• ८ पुस २०८२, मङ्गलबार

जनशक्ति र उपकरण अभाव झेल्दै बुर्तिवाङ अस्पताल

blog

ढोरपाटन नगरपालिकामा रहेको बुर्तिवाङ जिल्ला अस्पताल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस ८ गते ।
बुर्तिवाङ जिल्ला अस्पतालमा जनशक्ति, उपकरण र रक्तसञ्चारको अभाव भएको छ । नियमित अपरेशन सेवा सञ्चालन गर्न रक्तसञ्चार केन्द्रको अभाव भएको हो भने प्रशासनिक कामका लागि लेखा अधिकृत अभावले सास्ती खेप्नुपरेको छ ।

अस्पतालका प्रमुख डा. अविनास पोखरेलका अनुसार, सामान्य बील भुक्तानीमा पनि प्रदेश जनस्वास्थ्य कार्यालयमा लेखि पठाउन बाध्य हुनुपर्ने अवस्था छ । ‘‘लेखाको रायबिना खरिदका काम गर्न सकिँदैन, सामान्य भुक्तानी पनि रोकिएको छ’’ डा. पोखरेलले भन्नुभयो, ‘‘अस्पतालमा चाहिने सामान्य मसलन्द, आदेश समेत गर्न नसकेको अवस्था छ ।’’

अस्पतालमा लेखा अधिकृत र सह–लेखापालको दरबन्दी भए पनि कोही छैनन् । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित तीन डाक्टर छन् । तर स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी सेवामा पनि जनशक्ति अभाव छ । अस्पतालले विज्ञापन गर्दा पनि स्त्रीरोग विशेषज्ञ नआएकाले मन्त्रालयले छात्रवृत्ति करार कोटाबाट पठाइदिएमा सहज हुने डा. पोखरेलको भनाइ छ ।

अस्पतालले आन्तरिक व्यवस्थापन गरेर स्वास्थ्यकर्मीको आवास हटाएर वार्ड बनाइएको छ । त्यस्तै दुई वटा भेन्टीलेटर, क्याबिन र बालवार्ड समेत बनाउन लागिएको डा. पोखरेलले जानकारी दिनुभयो । ‘‘वार्ड बनाएपछि धेरै बिरामी भर्ना गर्न सकिएको छ’’ डा. पोखरेलले भन्नुभयो, ‘‘अझै जटिल प्रसुती अपरेशनपछिका लागि आइसियु छैन ।’’ अस्पताल घोषणा भए पनि उपकरण, जनशक्ति र व्यवस्थापन ढीलाइ भएको उहाँले बताउनुभयो ।

अस्पतालले शिशुलाई जन्डिसबाट बचाउन फोटोथेरापी सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालमा फेयरमेड फाउण्डेसन र गण्डकी प्रदेश सरकारको सहयोगमा सुविधासम्पन्न ल्याब बनेपछि गतवर्ष मात्रै ३० हजार बिरामीले सेवा लिएका छन् । गतवर्ष दुई सय ६० जना सुत्केरी भएकोमा १९ वटा अपरेसन बुर्तिवाङमै सफल भएको थियो । तर अस्पतालमा विद्युत अभाव हुँदा अपरेसनमा जोखिम मोल्नुपर्ने बाध्यता रहेको डा. पोखरेलले सुनाउनुभयो ।

अस्पतालाई आवस्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले चासो नदेखाएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष चन्द्र अर्याल बताउनुहुन्छ । सबैको चासो र चिन्तन तथा व्यवस्थापन चुस्त बनाउनुपर्ने उहाँको राय छ । मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर सेवा दिनसके दुर्घटनाका बिरामीको उपचारमा सहज हुने अर्यालको भनाइ छ ।

ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकासहित बडिगाड गाउँपालिका, गुल्मी, रोल्पा र रुकुमसम्मका बिरामी बुर्तिवाङ अस्पतालमा उपचार गर्न आइपुग्छन् । तर पर्याप्त सेवा नहुँदा पाल्पा वा बुटवल रिफर गर्नुपर्ने बाध्यता छ । आवस्यक सेवा सुविधा तथा उपकरण उपलब्ध भए सेवा विस्तार गर्न सकिने डा. पोखरेलले बताउनुभयो ।