• ८ पुस २०८२, मङ्गलबार

पुल नहुँदा सधैँ सास्ती

blog

ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर र बर्दिवास नगरपालिका–११, खयरमारालाई जोड्ने बाँके खोला । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, पुस ८ गते ।
बाँके, फूलजोर र लखन्देही खोलामा पुल नहुँदा सर्लाहीको एक दर्जन बढी पालिकाका बासिन्दा जहिल्यै सास्ती खेप्न बाध्य छन् ।

महोत्तरी, सर्लाही र सिन्धुलीको चुरेभेगदेखि बगेर आउने यि तीन खोलाको दर्जनौँ ठाउँमा वारपार गर्ने सडक भए पनि पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो । चुरेभेगदेखि दक्षिण भारतीय सीमासम्म नै बग्ने बाँके, फूलजोर र लखन्देही खोलामा पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकबाहेक अन्यत्र पुल निर्माण हुन सकेको छैन ।

वर्षायाममा बाढी आउँदा खोलामा पुल नभएकाले आउजाउ नै ठप्प हुने गरेको छ । अहिले हिउँदयाममा खोलामा पानी नहुँदासमेत बालुवा र ढुङ्गाका कारण मुस्किलसँग सवारी साधन वारपार गरिरहेका छन् ।

यि तीनवटै खोलामा पुल नहुँदा चुरेवर्ती क्षेत्रमा अझ बढी समस्या रहेको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ देखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन हुँदै बागमतीसम्म पुग्ने गरी चुरेको फेदी नै फेदी सडक भए पनि खोलाहरुमा पुल रहेका छैनन् ।

भर्खरै लालबन्दी नगरपालिका–,१६ स्थित परवानीपुरमा पर्ने कालिन्जोर खोलामा पुल बनेको छ । अन्य ठाउँमा भने खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

लालबन्दी नगरपालिका–१५, देउरालीका शङ्कर केसीले लालबन्दी र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलामा पुल नहुँदा जहिल्यै सास्ती खेप्दै आएको गुनासो गर्नुभयो । पहिलेको तुलनामा बाटो राम्रै बन्न थाले पनि खोलामा पुल नहुँदा वर्षायाममा वारपार गर्नै समस्या रहेको उहाँले बताउनुभयो ।

महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा र सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरलाई जोड्ने गरी पुल निर्माण गरिदिन माग गर्दै ईश्वरपुर नगरपालिकाले तीन वर्षअघि सडक विभागसँग बजेट माग गरेको थियो । नगरप्रमुख मनोजकुमार आचार्यले चुरे श्रृङ्खलाको फेदी भएर परापूर्वकालदेखि सञ्चालनमा रहेको बर्दिवास–बागमती भित्ते सडक सञ्चालनका लागि बाँके खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारलाई घच्घच्याउने काम गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

पालिका मात्रैले पुल निर्माण गर्न सक्ने अवस्थ नरहेको नगरप्रमुख आचार्यको भनाइ छ । स्थानीय वासिन्दाको जनजीविकासँग जोडिएको चुरेफेदीको रणनीतिक सडक निर्माणका लागि बारम्बार आवाज उठे पनि उचित सुनुवाइ हुन सकेको छैन ।

चुरेफेदीमा पुल निर्माण नभए पनि पालिका र प्रदेश सरकार मिलेर सडक भने लगभग कालोपत्रे गरिसकेका छन् । बाँके, फूलजोर र लखन्देही खोलामा पुल नहुँदा पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भेगमा पनि समस्या नै छ ।

वर्षायाममा त स्थानीय बासिन्दा बाढी तरेर जान नसक्दा पूर्वपश्चिम राजमार्गमा निस्किएर वारपार गर्ने गरेका छन् । हरिपुर नगरपालिका–१, हजारबिघाका वडाध्यक्ष नानीबाबु थापाले लखन्देखि खोलामा पुल निर्माणका लागि धेरै पटक मन्त्री भेट्ने र मन्त्रालयलाई पत्र लेख्ने काम गरे पनि सुनुवाइ नभएको बताउनुभयो । 

दक्षिणपूर्वी भेगस्थित सर्लाहीतर्फको हरिपूर्वा नगरपालिका र महोत्तरीतर्फको गौशाला नगरपालिकालाई जोड्ने बाँके खोलामा पुल नहुँदा स्थानीय हैरान छन् । अहिले हिउँदमा जसोतसो वारपार गर्ने गरे पनि वर्षायाममा की पूर्वपश्चिम राजमार्ग की त हुलाकी राजमार्गको पुल भएर घुमाउरो किसिमले आउजाउ गर्नुपर्ने बाध्यता रहेको हरिपूर्वा नगरपालिकाका प्रमुख नगरप्रमुख शियाराम रायले बताउनुभयो ।

उहाँले बाँके खोलामा पुल नहुँदा एक जिल्लाबाट अर्को जिल्लामा हाटबजार भर्न, खेती गर्न जान तथा अन्य कामका लागि आउजाउ गर्न सास्ती रहेको जानकारी दिनुभयो । अब फागुन २१ को निर्वाचन नजिकिएसँगै स्थानीय वासिन्दाले यि तीनवटै खोलाहरुमा पुल निर्माणको विषयलाई चर्चामा ल्याउन थालेका छन् ।