• ७ पुस २०८२, सोमबार

दोलखाको पशु सेवा कार्यालय : जग्गा छ, भवन छैन

blog

कार्यालय सञ्चालन गरिएको भवन ।

सुजन काफ्ले

चरीकोट, पुस ७ गते । दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ । बागमती प्रदेश सरकार मातहत रहेको सो कार्यालयसँग भवन निर्माणका लागि उपयुक्त जग्गा उपलब्ध भए तापनि भवन निर्माण हुन सकेको छैन ।

निर्माण प्रक्रिया अघि बढ्न नसक्दा प्रदेश सरकारले लगातार तीन वर्षदेखि विनियोजन गरेको करोडौँको बजेट फ्रिज भएको हो । आर्थिक वर्ष २०७८-७९ मा भवन निर्माणका लागि विनियोजन गरिएको १ करोड रुपयिाँ खर्च हुन नसकी फिर्ता भएको थियो भने यो क्रम पछिल्ला वर्षहरूमा पनि दोहोरिरहेको छ। लगातार बजेट फिर्ता भएपछि यो वर्ष भने भवन निमार्णका लागी बजेट विनियोजन नै नभएको कार्यालयले जनाएको छ ।

पशु सेवा कार्यालय दोलखाको भवन निर्माण गर्न हरेक वर्ष सहरी विकास तथा भवन कार्यालय धुलिखेलमा बजेट आउने गरेको थियो । वर्षभरि काम हुन नसकेपछि त्यो पुनः फिर्ता भएको थियो । यस्तो प्रक्रिया तीन आर्थिक वर्षदेखि निरन्तर चलेको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७८-७९ को १ करोड बजेट बिनियोजन गरिएको थियो । तर काम हुन सकेन एक रुपियाँ पनि खर्च नभई बजेट फिर्ता भयो ।

२०७९-८० मा कृषि तथा पशु विकास मन्त्रालयबाट १ करोड ५० लाख बजेट विनियोजित भएको थियो । सो बजेट पनि खर्च नभएपछि फिर्ता भएको थियो । आर्थिक वर्ष ०८०-८१ मा पुनः १ करोड ५० लाख सोही शीर्षकमा बजेट विनियोजन भयो । लगातार बजेट फिर्ता भएपछि यो वर्ष भने भवन निमार्णका लागी बजेट विनियोजन नै नभएको कार्यालयले जनाएको छ । नक्सा पासको विषयमा भीमेश्वर नगरपालिकाले र कार्यालय बिच कुरा नमिल्दा भवन निर्माण कार्य अगाडि बढ्न नसकेको हो । 

पशु सेवा कार्यालय दोलखाका प्रमुख डा.टेकराज पौडेलले नगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो। भवन केहि पछाडी सारेर भवन बनाउन नगरपालिकाले आग्रह गरेको तर डिपिआर परिर्वतन गर्नलाई सहज नभएको उहाँले बताउनुभयो । नगरपालिका सँग फेरी छलफल तथा समन्वय गरेर प्रक्रिया अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।

भवन निर्माण नहुँदा कार्यालयमा रहेका कतिपय उपकरण प्रयोगविहीन बनेका छन् । भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगविहीन बनेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो। पशु जाँचका लागि ल्याइएका ल्याब र भिडियो एक्सरे मेसिन भवन अभावले प्रयोगविहीन बनेका हुन् ।

सबै पशुलाई एकै ठाउँमा राखेर उपचार गरिँदा उल्टै रोग एकअर्कामा सर्ने जोखिम उच्च हुन्छ । तर छुट्टाछुट्टै राख्नलाई ठाउँ छैन, कतिपय भवनका कोठामा पानी चुहिने गरेको कार्यालयले जनाएको छ । 

उपचारका लागि कार्यालयमा लगिएका पशुहरु थप सरूवा रोग लिएर फर्किने चिन्ता रहेको किसानले गुनासो गरेका छन्। अस्पतालमा उपचार र परीक्षणका लागि प्रयोग गरिएका उपकरणहरु व्यवस्थापन गर्ने उचित ठाउँ नभएको कार्यालयले जनाएको छ । 

कार्यालयले २५ वर्ष अगाडि निर्माण गरिएका भौतिक संरचनाबाट सेवा दिँदै आएको  छ । कार्यलयको नाममा २ हजार २२० वर्गमिटर जग्गा रहेको कार्यालयले जनाएको छ ।