सिराज खान
नेपालगन्ज, पुस ६ गते । निर्माण कम्पनीको लापरबाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने सो भवन अझै अधुरो छ । करिब पाँच वर्ष अघि चार करोड २२ लाख ८४ हजार ७१० रुपियाँ ४२ पैसाको लागतमा निर्माण सुरु भए पनि हालसम्म करिब सो भवनको निर्माण कार्य ८० प्रतिशत मात्र पूरा भएको छ ।
पाँच वर्ष बितेपनि निर्माण कम्पनीको बेवास्ताले अझै २० प्रतिशत काम बाँकी रहेकै कारण सयौं नागरिक सहज सेवा पाउने अधिकारबाट वञ्चित भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समयमै काम नहुँदा पालिकाका सम्पूर्ण सेवा चारवटा कोठाबाट सञ्चालन गर्नुपरेको छ, यसले सेवा प्रवाह मात्र होइन, जनताको भरोसामै असर परेको छ ।”
२०७९ साल फागुन अन्त्यसम्म सो भवन निर्माण सम्पन्न गर्ने गरी थेगिम, श्रीकृष्ण, निशान जेभी (कोहलपुर–११) सँग सम्झौता भएको थियो । गाउँपालिका अध्यक्ष छब्बन खाँले कागजमा म्याद सकिएको धेरै भइसकेपनि भवन निर्माण अझै अधुरो रहेकोले त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेपिरहेको बताउनुभयो ।
उहाँले नयाँ सङ्घीय संरचनामा जनतालाई सहज सेवा दिने सपना बोकेर अघि बढेपनि समयमै आफ्नै भवन नबन्दा कर्मचारी र सेवाग्राही दुवै असहज अवस्थामा रहेको बताउनुभयो ।
वडा नम्बर पाँचका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले सम्झौतामा तोकिएको म्याद भित्र काम सम्पन्न नहुनु गम्भीर लापरबाही भएको जनाउँदै यसको प्रत्यक्ष मार सेवाग्राहीले भोगिरहेको बताउनुभयो ।
निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम सम्पन्न नगरे सम्झौताअनुसार ठेक्काको धरौटी जफत गरिने, ठेक्का रद्द गरिने तथा सम्बन्धित फर्मलाई कालोसूचीमा राख्न कानुनी प्रक्रिया अघि बढाइने चेतावनी गाउँपालिकाले दिइएको छ ।
यसैबिच, निर्माण कम्पनीका प्रतिनिधि हिराबहादुर बिसीले समयमै काम पूरा हुन नसकेको स्वीकार गर्दै एक महिनाभित्र भवन सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने बताउनु भएको छ ।
समयमा पालिकाको नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न नहुँदा जानकी गाउँपालिकाका नागरिकहरू साँघुरो कोठामा, लामो प्रतीक्षामा र अधुरो भवनको छायाँमा सेवा लिन बाध्य भएका छन् ।