• ६ पुस २०८२, आइतबार

अनुदान कटौतीले योजना प्रभावित

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस ६ गते ।  अघिल्लो वर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ का विभिन्न सात स्थानमा किरियापुत्री ट्रस्ट निर्माणको योजना पूरा हुन सकेको छैन । त्यो योजनाका लागि नौ लाख ८० हजार रुपियाँ विनियोजन तथा नगरपालिकाको रातो किताबमा समेत छापिए पनि योजना पूरा हुन सकेको छैन । मुसीकोट नगरपालिका–२ का वडाध्यक्ष दिनेश खड्काले बान्नेचौर, जलजले र राक्सेकोटमा योजना नै सुरु नभएको र ज्यामिरेखोला, मुलाखोला, गाउँबारी र सिमखोलामा काम पूरा हुँदा पनि पूरा रकम भुक्तानी हुन नसकेको बताउनुभयो । 

अनुदान कटौती हुँदा किरियापुत्री ट्रस्टसहित दर्जन योजना नै कटौती भएको उहाँले बताउनुभयो । गत वर्ष मुसीकोट नगरपालिका–१० मा तीन दर्जनभन्दा बढी विकास योजना नगरपालिकाको रातो किताबमा प्रकाशित भएका थिए । सहज यातायात सेवा, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, खानेपानीसँग सम्बन्धित ती योजना पनि पूरा भएनन् । 

अनुदानका भरमा तय भएका सडक र खानेपानीसँगै स्टे«चर खरिद, पशु बिमा, कृषि प्रवर्धन, विपत् व्यवस्थापनलगायतका योजनामा बजेट कटौती भएर आउँदा मारमा परेको उहाँले बताउनुभयो । माथिल्लो तहका सरकारबाट आउने अनुदान ढिलो र तोकेभन्दा कम आउँदा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायतका पूर्वाधारका योजना प्रभावित भएका छन् । 

लगातार अनुदान कटौती

प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले स्थानीय तहलाई दिने समानीकरण र राजस्व बाँडफाँटतर्फको अनुदान कटौती हुने गरेको छ । मुसीकोट नगरपालिकाका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा मात्र सङ्घीय र प्रदेश सरकारले २९ करोड २३ लाख सात हजार २४१ रुपियाँ अनुदान कटौती गरेका छन् । जसका कारण कैयौँ योजना पूरा हुन सकिरहेका छैनन् । नगरपालिकाका लेखा अधिकृत नरेन्द्र विष्टका अनुसार गत आव २०८१/८२ मा सङ्घीय सरकारमा प्रस्तावित गरेको ५७ करोड १४ लाख ५९ हजार रकममध्ये ५० करोड ६३ लाख पाँच हजार ३०८ रुपियाँ मात्र प्राप्त भयो । त्यसै गरी कर्णाली प्रदेश सरकारमा प्रस्ताव गरिएको १० करोड ९१ लाख ६० हजार अनुदानमध्ये १० करोड २३ लाख ९८ हजार ४९० रुपियाँ मात्र प्राप्त भयो । राजस्व बाँडफाँटतर्फ प्रस्ताव गरिएको १२ करोड पाँच लाख ५९ हजार ९८७ रुपियाँ घटेर ११ करोड ६७ हजार ४९६ रुपियाँ मात्र अनुदान प्राप्त भयो । लेखा अधिकृत विष्टले ढिला गरी घटेर आउने अनुदानको रकमका कारण नगरपालिकाको वार्षिक कार्यव्रmम तथा बजेटको कार्यान्वयन पक्ष कमजोर बन्न पुगेको बताउनुभयो । 

आव २०८०/८१ मा पनि सङ्घीय सरकारबाट आउनुपर्ने चार करोड ५१ लाख १५ हजार ६८४ रुपियाँ, प्रदेश सरकारको एक करोड १४ लाख ७३ हजार ७० रुपियाँ र राजस्व बाँडफाँटतर्फको चार करोड २८ लाख नौ हजार २८९ रुपियाँ कटौती भएको थियो । मुसीकोट नगरपालिकामा आव २०७९/८० मा सङ्घीय सरकारको पाँच करोड ३२ लाख ७२ हजार ५२६ रुपियाँ, प्रदेश सरकारको ३९ लाख ३३ हजार र राजस्व बाँडफाँटतर्फको पाँच करोड ३२ लाख ९५ हजार ९७८ अनुदान रकम पनि आएन । यसरी अनुदान कटौती हुँदा स्थानीय तह र लाभान्वित वर्गमा प्रत्यक्ष असर परेको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले अन्तिम चौमासिकका बेलामा अनुदान कटौती भएर आउँदा नगरपालिकामा दायित्व सिर्जना हुने अवस्था आएको जानकारी दिनुभयो । 

मुसीकोट र चौरजहारी जस्तै जिल्लाभरका स्थानीय तहमा अनुदान कटौती हुने गरेको छ । अनुदानमा भएको कटौती र ढिलाइले स्थानीय विकास र सेवा वितरणमा कठिनाइ हुने गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमपश्चिमका प्रमुख गोविन्दप्रसाद सुवेदी अनुदान कटौती वित्तीय रूपले समेत प्रभाव पर्ने बताउनुहुन्छ । उहाँले रुकुमपश्चिम जस्तो ग्रामीण जिल्लामा स्थानीय सरकारका आय सीमित हुने हुँदा अनुदान कटौतीले पूर्वनिर्धारित विकास आयोजना निर्माणमा ढिलाइ हुने तथा रोक्नुपर्ने अवस्था आउने बताउनुभयो ।