जीवछ यादव
लहान, पुस ६ गते । दुई दिनदेखि एकासी बढेको चिासोका कारण विपन्न समुदायको जनजीवन कष्टकर हुँदै गएको छ । विपन्न समुदायमा पनि मुसहर समुदाय चिसोबाट निकै प्रभावित भइरहेको छ ।
लहान १ र २ का मुसहर समुदायहरु दुई दिनदेखि बढेको चिसोका कारण दैनिकी ज्याला जेमजदुरीमा जानबाट बञ्चित भएका छन । लहान वडा नम्बर २ का गण्पति सदाय भन्नुहुन्छ, ‘‘नहरको किनारमा रहेको फुसको घरमा सिरसिर पश्चिमबाट आउने हावाले दिन रात समय बिताउन कठिनाइ भएको छ । न आगो ताप्न दाउरा न जीउ ढाक्न न्यानो लुगा छ । दिन कमाउने रात खाने हरेक वर्ष शितलहरमा यस्तै कष्टपूर्ण समय बिताउनुपर्ने बाध्यता छ ।’’
गणपति सदाय जस्तै हरेक दलित विपन्न समुदायको यहि व्यथा र कथा भए पनि स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिको पूर्व तयारी केहि पनि हुँदैन । दुई चार जना जाडोले कठियाङ्ग्रेर मृत्युवरण गरेपछि बल्ल आउँछ राहत । त्यसमा पनि राहत कम सेल्फी बढी लिइने गरेको दलित अगुवा सोनाइ सदायले गुनासो पोख्नुभयो ।
वर्षातमा बाढी आएपछि शीतलहरमा जाडोले सताएपछि राहत लिएर आउनुभन्दा पूर्व तयारी गरेर समस्या पर्ने समुदायलाई विपतको समय आउनुभन्दा अघि नै न्यायनो लुगा र खाद्यान्न राहत दिइनुपर्ने आवश्यकता रहेको मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘विपद व्यवस्थापन समितिको कार्य कहिलेपनि भरपर्दो र पूर्व तयारी भएन । बाढी र शित लहरको समयमा पूर्व तयारी गरेर राहतको व्यवस्थापनमा ध्यान दिइनु आवश्यक छ ।’’
चिसो बढेपछि कृषि मजदुर, विपन्न दलित समुदायका बालबालिकाहरु बढी प्रभावित भएका छन् । चिसोका कारण मजदुरले काम गर्न छाडेका छन् भने विद्यालयमा बालबालिकाहरुको उपस्थिति घटेको श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रङगलाल साहले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘‘यस विद्यालयमा ९९ प्रतिशत दलित सुकुम्वासीको विद्यार्थी अध्ययनरत छन् । जस्तापाता मुक्त विद्यालय हुन नसक्दा, वर्षात, गर्मी र चिसोमा पठनपाठनमा समस्या हुने गरेको छ ।’’
यता लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीसँग लहानमा रहेका विपन्न दलित समुदायलाई चिसोबाट जोगाउन के भइरहेको छ ? भने जिज्ञासामा चिसो प्रभावित वडाहरुमा विपन्न समुदायलाई दाउरा, कम्वल र खाद्यान्न वितरण गरिने तयारी भइरहेको उहाँले बताउनुभयो । शितलहरको चपेटामा सिरहा जिल्लाको १७ वटै पालिकाहरुमा समस्या उत्पन्न हुने भएकाले यसबारेमा समन्वय भइ समस्या समाधान गर्न उन्मुख रहेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले विश्वास व्यक्त गर्नुभयो ।