• ४ पुस २०८२, शुक्रबार

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

blog

बैङ्कक, पुस ४ गते । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालले विश्वभरका पीडितबाट हरेक वर्ष अर्बौ डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्वपूर्ण मानिएको छ ।

थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) को संयुक्त आयोजनामा बुधबार र बिहीबार बैङ्ककमा सम्पन्न दुई दिने सम्मेलनको अन्त्यमा ‘अनलाइन घोटालाविरुद्ध ग्लोबल पार्टनरसिप’ नामक नयाँ पहल घोषणा गरिएको हो । सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, नेपाल, पेरु र संयुक्त अरब इमिरेट्सका प्रतिनिधि सहभागी थिए ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उदघाटन सम्बोधनमा अनलाइन घोटालाले ‘गहिरो र साझा कमजोरी उजागर गरेको’ उल्लेख गर्दै भन्नुभयो, “यो यस्तो समस्या हो, जुन कुनै पनि देशले एक्लै समाधान गर्न सक्दैन ।” उहाँका अनुसार यसविरुद्ध सामूहिक प्रतिबद्धता र सीमापार सहकार्य अपरिहार्य छ ।

सम्मेलनका क्रममा सहभागी राष्ट्रले राजनीतिक प्रतिबद्धता, कानून प्रवर्तन संयन्त्र सुदृढीकरण, पीडितको संरक्षण, जनचेतना अभिवृद्धि तथा सीमापार सहयोगलाई समेट्ने साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पहलमा निजी क्षेत्रको पनि उल्लेखनीय सहभागिता देखिएको छ । इन्टरनेट कम्पनी मेटा र टिकटकले सम्मेलनलाई सहयोग गरेका थिए ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले अनलाइन घोटाला रोक्न प्रयोग भइरहेका स्क्याम नेटवर्क पहिचान प्रणाली र कृत्रिम बौद्धिकता (एआई)मा आधारित प्रोटोकलको विवरण समेटिएको धम्की मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको थियो । यसले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणमा प्रविधिको बढ्दो प्रयोगलाई देखाएको छ ।

छोटो भिडियोमा केन्द्रित विश्वका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्म मध्ये एक टिकटकले सम्मेलनको समापन वक्तव्यमा हस्ताक्षर गर्दै साझेदारीको पहिलो निजी क्षेत्रका सदस्य मध्ये एक बनेको छ । टिकटकले यही साता अमेरिकामा नयाँ संयुक्त उद्यम गठन गर्न प्रमुख लगानीकर्तासँग सम्झौतामा हस्ताक्षर गरेको जानकारी पनि दिएको छ । 

यद्यपि, चिनियाँ स्वामित्वका कारण टिकटकले अमेरिका, युरोपेली सङ्घ (इयु) र क्यानाडाजस्ता देशमा पारदर्शिता, डाटा सुरक्षा र बाल संरक्षणसम्बन्धी चुनौती भोग्दै आएको छ । नक्कली लगानी योजना र झुटा प्रेम सम्बन्धको प्रयोग गरी पैसा ठग्ने स्क्याम सेन्टर दक्षिणपूर्व एसियाका विभिन्न देशमा फैलिएका छन् । युएनओडिसीको अनुमानअनुसार सन् २०२३ मा मात्र अनलाइन घोटालाका पीडितहरूले १८ अर्बदेखि ३७ अर्ब अमेरिकी डलरसम्म गुमाएका थिए । 

बैङ्कक सम्मेलनमा करिब ६० देशका ३०० भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । छलफलका क्रममा सरकारी संयन्त्रसँगै निजी क्षेत्रको साझेदारी अत्यन्तै महवपूर्ण रहेकोमा जोड दिइयो । हालै टिकटकमा आबद्ध भएका ग्लोबल एन्टी–स्क्याम एलायन्सका एसिया-प्यासिफिक निर्देशक ब्रायन हान्लीले भन्नुभयो, “सबै प्रमुख सरोकारवाला एउटै टेबलमा नआएसम्म आपराधिक सञ्जालसँग प्रभावकारी रूपमा लड्न सकिँदैन ।”

उहाँका अनुसार घोटालाले अन्तर्राष्ट्रिय सीमामात्र नभई, बैंक, दूरसञ्चार कम्पनी र सामाजिक सञ्जाल जस्ता विभिन्न प्लेटफर्मबीचका कमजोरी पनि दुरुपयोग गरिरहेका छन् । उहाँले आशा व्यक्त गर्दै भन्नुभयो, “आज टिकटक सहभागी भएको छ, भोलि अरू सबै पनि सामेल हुनेछन् भन्ने अपेक्षा छ, किनकि यसले उपभोक्ताको विश्वास र व्यवसाय दुवैलाई असर गरिरहेको छ ।”

हालै म्यान्मामा घोटाला केन्द्रमा गरिएको छापा, थाइल्यान्डमा पीडितको उद्धार तथा कम्बोडियामा जबर्जस्ती घोटाला काममा लगाइएका एक दक्षिण कोरियाली विद्यार्थीको मृत्युजस्ता घटनाले क्षेत्रीय स्तरमा कडा कदम चाल्नुपर्ने दबाब बढाएको छ । कम्बोडिया घोटाला कम्पाउन्डको केन्द्र मानिए पनि हाल दुई देशबिचको तनावका कारण सो देश सम्मेलनमा सहभागी थिएन ।

यसअघि पनि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का सदस्यले अनलाइन घोटालाविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेका छन् । साथै, साइबर अपराध विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा अक्टोबरमा भियतनाममा ७० भन्दा बढी देशले हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त महासन्धिलाई ‘कुनै पनि देश साइबर अपराधविरुद्ध असहाय नहुने प्रतिबद्धता’का रूपमा वर्णन गर्नु भएको छ । रासस/एपी