• १ पुस २०८२, मङ्गलबार

एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

blog

चौमाला समाचारदाता 

चौमाला (कैलाली), पुस १ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा उपमहानगरपालिकाले सुरु गरेको थियो । 

उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । २०७९ सालदेखि हालसम्म एक लाख ३३ हजार बिरामीले स्वास्थ्य सेवा लिएका धनगढी उपमहानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्ण बोहोराले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो अवधिमा ७८ हजार ७३६ जनाले जनरल फिजिसियनबाट, २६ हजार २४२ महिलाले स्त्री तथा प्रसूतिरोग विशेषज्ञबाट र ४० हजार ३४८ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये २४ हजार ४२६ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भिडियो एक्सरे, इसिजी, गर्भवती सेवा, ल्याब सेवा, सुगर तथा अन्य सेवा पनि वडामा नै दिने गरेको बताउनुभयो । 

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले १९ वटै वडामा प्रत्येक महिना निःशुल्क वडा क्लिनिक सुरु गरिएको उपप्रमुख कन्दकला रानाले बताउनुभयो । 

२०७९ साउन १ देखि गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण गर्न सहज हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय सेवाग्राही जयन्तीकुमारी चन्दले बताउनुभयो । उपमहानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाका रूपमा सञ्चालनमा ल्याइएको हो । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचका मेसिनरीको सहयोग उपलब्ध गराएको छ । साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयले आँखारोगसम्बन्धी उपचारमा सहयोग गर्दै आएका छन् ।

यस्तै प्रयोगशाला, अल्ट्रासाउन्ड, इसिजीलगायतका सेवा पनि वडा स्वास्थ्य क्लिनिकले प्रदान गर्दै आएको छ । फिजिसियन डाक्टर विकास रिजालले नसर्ने रोगका बिरामीको सङ्ख्या धेरै आउने गरेको बताउनुभयो । 

उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा स्वास्थ्य सेवा सुरु भएपछि आर्थिक रूपमा विपन्न नागरिक, वृद्धवृद्धा, सुत्केरी र अशक्त बढी लाभान्वित भएका छन् ।