चौमाला समाचारदाता
चौमाला (कैलाली), मङ्सिर २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा मतदान स्थल अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका मतदान स्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन तीव्र बनाइएको हो । सुरक्षाका हिसाबले संवेदनशील सूचीमा रहेका कैलाली जिल्लाका १०६ मतदान स्थलमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिको संयोजक हीरालाल रेग्मीले जानकारी दिनुभयो । जिल्लामा सुरक्षा समिति गठन भएसँगै समितिले नै अनुगमनमा तीव्रता दिएको हो । निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण गर्न र मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन अनुगमन गर्दा सहज हुने उहाँले बताउनुभयो ।
अति संवेदनशील मतदान स्थल
जिल्लाका १३ वटा स्थानीय तहमा रहेका २३६ मतदान स्थलका ६२९ मतदान केन्द्रमध्ये १०८ अति संवेदनशील, १०६ वटा संवेदनशील र २३ वटा सामान्यको सूचीमा राखिएको छ । निर्वाचनमा हरेक ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै राष्ट्रिय अनुसन्धानको विशेष निगरानी रहने सुरक्षा समितिले बताएको छ । सोही अनुसार जिल्लाको सुरक्षा योजना तयार पारिसकेकाले निर्वाचन सफल बनाउन जिल्ला सुरक्षा समिति सक्षम रहेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताउनुभयो । निर्वाचन स्थलमा मतदानको दिनलाई आवश्यक पर्ने भौतिक अवस्था, खानेपानी, विद्युत्, शौचालय र घेराबारको अवस्थाबारे पनि सूक्ष्म रूपले अध्ययन गर्दै आएको निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
कैलालीमा १८ हजार २१३ नयाँ मतदाता थपिएका छन् । औँठाछाप र फोटोसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन विधिबाट नाम दर्ता गराउने व्यवस्थासमेत गरिएको थियो । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवापुस्ताका मतदाता बढी थपिएको जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय कैलालीले हालसम्म जिल्लामा पाँच लाख ३५ हजार ३४४ जना मतादाता रहेको जनाएको छ । थपिएका मतदातासहितको पछिल्लो वास्तविक विवरण भनेपछि प्रकाशन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टको भनाइ छ ।