• १२ असार २०८१, बुधबार

अपाङ्गता भएकालाई पालिकाद्वारा बाख्रा सहयोग

blog

अमरराज नहर्की

तनहुँ, असार २५ गते  । जीविकोपार्जन सहज बनाउन तनहुँको भिमाद नगरपालिकाले अपाङ्गता भएकालाई माउ बाख्रा सहयोग गरेको छ । बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् । 

विभिन्न वडामा पुगेर लक्षित व्यक्तिलाई नगरपालिकाका उपप्रमुख शारदा खनालले बुधबार बाख्रा वितरण गर्नुभयो । अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री हस्तान्तरण गर्दै उपप्रमुख खनालले नगरपालिकाको सहयोगलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । खनालले विभिन्न कारणले विपन्न अवस्थामा रहेकाहरुको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पालिकाभित्र रहेको मध्यम र सामान्य अपाङ्गता भएकालाई विभिन्न वडामा रहेको ग र घ वर्गका अपाङ्ता भएकाहरुको मागअनुसार ३६ जनालाई प्रजनन योग्य बाख्राको माउ वितरण गरिएको भिमाद नगरपालिका स्तरीय अपाङ्गता समन्वय समितिका सदस्य विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

यस्तै, कार्यक्रम आयोजना गरी यहाँका २५ जना विभिन्न अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको सूचना अधिकारी टेकावती ढकालले बताउनुभयो । सूचना अधिकारी ढकालका अनुसार पाँच लाख मूल्य बरावरको बाख्रा र एक लाख मूल्यको अपाङ्गता सहायता सामग्री सहयोग गरिएको छ । 

६ जनालाई ह्विलचियर, पाँच जनालाई बैशाखी, दुई जनालाई एल्वो स्टिक र सात जनालाई सेतो छडी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । भिमाद नगरपालिकामा विभिन्न किसिमको अपाङ्गता भएका ४३८ जनाको पहिचान गरी वर्गअनुसार कार्ड उपलब्ध गराएको अपाङ्गता समन्वय समिति भिमादले जनाएको छ ।