काठमाडौँ, मङ्सिर २६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताउनुभयो।
उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताउनुभयो।
उहाँले मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्बाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिनु आवश्यक रहेको स्पष्ट पानुभयो।
उहाँले राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको बताउनुभयो।
राष्ट्रपति पौडेलले जनतालाई सार्वभौम बनाउन र उनीहका हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न प्रजातन्त्र सेनानीले लोकतन्त्र स्थापना र पुनः स्थापनाका सङ्घर्षमा अविश्राम समर्पित भएको गर्विलो इतिहासको जगमा आज मुलुक उभिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको चरणसम्म आइपुग्नका लागि सहिद र प्रजातन्त्र सेनानीले विगतमा पटक पटक गरेको कठोर सङ्घर्ष, त्याग र बलिदान सदैव स्तुत्य छ।’
उहाँले लोकतान्त्रिक आदर्श, मूल्य मान्यता र निष्ठाका लागि प्रजातन्त्र सेनानी सतत र अनवरत क्रियाशील रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताउनुभयो।