विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २६ गते । राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ । राजविराजस्थित गजेन्द्रचोकमा शुक्रबार पालिका प्रमुखहरु रिले अनशनमा बस्नु भएको हो ।
राजविराजमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा रिले अनशन सुरु गरिएको रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो । उहाँले राजविराजमा ७० हजारभन्दा बढी करदाता रहेकोले आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने धारणा राख्नुभयो ।
रिले अनशनमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, निवर्तमान प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी छन् ।
यसअघि करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयको विरोध र आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै उद्योगी व्यवसायी, जेनजी समूहका युवाहरु जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बस्नुभएको थियो ।
आन्तरिक राजस्व कार्यालय स्थापना नभए यहाँका व्यापारीले दुःख पाउनुका साथै राजस्व सङ्कलनमा पनि कमी आउने उद्योग वाणिज्य सङ्घ सप्तरीका महासचिव अमृत संचेतीले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय स्थापनाको माग राख्दै प्रधानमन्त्रीलाई सुशीला कार्कीलाई पाँच हजार हस्ताक्षर पठाइएको थियो ।