गोरखापत्र अनलाइन
काठमाडौं , मङ्सिर २६ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी र जनताबिच फर्किसकेको बताउनुभएको छ।
उहाँले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गर्नुभएको छ । एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर सङ्गठनलाई मजबुत बनाएको बताउनुभयो।
एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दैगएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि उहाँले बताउनुभयो । ‘हामीले मिसन २०८४ को लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ’ उहाँले भन्नुभयो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश गम्भीर सङ्कटमा प्रवेश गरेको र राज्यको अङ्गमा अराजकता फैलिएको उहाँको मूल्याङ्कन छ। ‘जेनजीका नाममा अराजक समूहले लोकतन्त्रमाथि प्रहार गर्यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन’ राईले भन्नुभयो।
जेनजी आन्दोलनमा टेकेर भदौ २४ गते देशमा विध्वंस मच्चाइएको पनि उहाँले बताउनुभयो । त्यसपछि गैरसंवैधानिक बाटोबाट सरकार बनाउने र संसद् विघटनको खेल भएकोउहाँको तर्क छ।
राईले देशका ठुला दल कमजोर अवस्थामा रहेको उल्लेख गर्दै नेपाल कांग्रेसजस्ता पुराना दलसमेत उभिन नसकिरहेको बताउनुभयो। ‘कतिपय दल विघटन भइसके। नयाँ दल बनिरहेका छन्। एमाले पनि स्तब्धजस्तै देखिएको थियो। ६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ’ उहाँले भन्नुभयो।
वडादेखि सहरसम्म पार्टीको पुनः सक्रिय उपस्थिति देखिएको दाबी गर्दै उहाँले अहिलेको राष्ट्रिय सङ्कटको समाधान एमालेले महाधिवेशनबाट स्पष्ट गर्ने बताउनुभयो।
‘जेनजी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। कता जान्छ भन्ने अनिश्चितता छ। त्यसैले एमालेले अब देशकै नेतृत्व लिन तयार भएको छ’ राईले भन्नुभयो । उहाँले एमालेमा अर्ली महाधिवेशन भइरहेको पनि बताउनुभयो । एक वर्षअघि नै महाधिवेशन गरेर एमालेलाई नयाँ चुनौती सामना गर्ने शक्ति बनाउन लागिएको उहाँको भनाइ छ ।