• २६ मङ्सिर २०८२, शुक्रबार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

blog

प्रदर्शनीमा राखिएका चित्रकला हेर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलगायत । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर २६ गते ।
चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मर्स्याङ्दी गाउँपालिकाको सभाहलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् ।

यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिएको प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदी, काउलेमा जन्मनुभएका भीम कलाकारिता क्षेत्रमा ‘बाबु साइँला’ नामले परिचित हुनुहुन्छ ।

गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ । चित्रमा विभिन्न गाउँ, प्राकृतिक सुन्दरताकासाथ हिमालहरु देख्न सकिन्छ । प्रदर्शनीमा राखिएका तस्बिरहरु आकर्षक, सुन्दर र उत्कृष्ट कलाकृतिहरू छन् । प्रस्तुत चित्रकलामा मर्स्याङ्दी गाउँपालिका तथा लमजुङ क्षेत्रका पहिचान बोकेको हिमाल, झरना, खोलानाला, पहरा, प्राकृतिक दृश्य तथा भू–परिवेश सजीव रूपमा अभिव्यक्त भएको पाइन्छ । स्थानीय प्रकृतिको मौलिक सौन्दर्य क्यानभासमा उतारिएको हुँदा दर्शकले प्रदर्शनीलाई उच्च प्रशंसा गरेका छन् ।

सानैदेखि चित्रकलामा रुची राख्नुभएका साइँलाले हालसम्म तेल र पानी रङमा सयौं चित्र कोरिसक्नुभएको छ । उहाँले सुरुमा व्यङ्ग्यात्मक चित्रहरु प्रसस्त कोरेर समाजलाई सुसूचित बनाउने प्रयास गर्नुभयो । उहाँले २०६९ सालमा लमजुङमा प्राकृतिक नेपाल शीर्षकमा एकल चित्रकला प्रदर्शनी समेत गर्नुभएको थियो । दोस्रोपटक रोजगारीका लागि कोरिया पुगेका बेला चित्रकला प्रर्दशनी गर्नुभएको थियो ।

ललितकला क्याम्पसबाट स्नातक गर्नुभएका उहाँले आफ्नो भविष्य कला क्षेत्रमै देखेको बताउनुहुन्छ । प्राय मानबीय संवेदनासंग जोडिएको मूर्त चित्र कोर्न मन पराउने साइँलाले यो प्रदर्शनीले स्थानीय स्तरमा कला संस्कृतिमा जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कला र संस्कृतिको संरक्षणमा पालिका लागि पर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले चित्रकलाले संस्कृतिको संरक्षणसँगै देशको पहिचान अन्तर्राष्ट्रियकरण गर्न टेवा पुग्ने बताउनुभयो । ललितकला प्रज्ञा प्रतिष्ठानको कला प्रवर्धन विभागमा कार्यरत माया लामा घिसिङले रैथाने कलाको खोजी गरी यसको संरक्षण र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रदर्शनीमा राखिएका चित्रहरु विक्रिमा पनि राखिएको चित्रकार साइँलाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो चित्रहरु विक्रिपनि भएका छन् । प्रदर्शनीसँगै आम्दानी पनि भएको छ । आफ्नै जन्मथलोमा प्रदर्शनी गर्न पाउँदा खुसी छु ।” साइँलाले यसअघि बनाएका विभिन्न चित्रहरु स्वदेश तथा विदेशमा बिक्री भइसकेका छन् ।