गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्य विस्तार गर्न आग्रह गर्नुभएको छ ।
दुई देशबिच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उहाँले अब दुई देशबिचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । बिहीबार भियतनामको राजधानी हनोईमा नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामी चेम्बर अफ कमर्स इन्डस्ट्रीसँगको छलफलका क्रममा उहाँले नेपाल र भियतनामबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
“दुई देशबिच आर्थिक सहकार्यका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु । नेपालमा लगानीको ठुलो सम्भावना छ, यस अवसरलाई सदुपयोग गर्नका लागि हाम्रो प्रयास रहने छ,” उहाँले भन्नुभयो ।
नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसतर्फ पनि लगानी बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने सम्भावना रहेको पनि बताउनुभयो ।
कार्यक्रममा थाइल्यान्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ ।
“पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ,” उहाँले भन्नुभयो, “नेपालमा निर्यातजन्य उद्योगमा लगानीका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु ।” उहाँले दुवै देशबीच पर्यटनको क्षेत्रमा सम्भावना रहेकोसमेत उल्लेख गर्नुभयो ।
नेपाल र भियतनाम सरकारबिचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्न सकिने पनि उहाँको भनाइ थियो । उहाँले नेपालमा उत्पादनमूलक उद्योग, आइसिटी, फर्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउनुभयो । नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै उहाँले दुवै देशबिचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालमा भियतनामको कृषि उत्पादन, सी फुड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको ठुलो बजार रहेको अध्यक्ष ढकालकोे भनाइ थियो । “नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानुन पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनलगायतका क्षेत्रमा सुधार भएको छ । सरकार पनि विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ,” उहाँले भन्नुभयो ।
नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी केबुलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताउनुभयो । अध्यक्ष ढकालले भियतनामी टोलीलाई महासङ्घको आगामी वार्षिक साधारण सभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निम्तो दिनुभयो ।
भियतनामी चेम्बर अफ कमर्स इन्डस्ट्रीका उपकार्र्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबिच लगानी र व्यापारका क्षेत्रमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबिच व्यापार र लगानीका क्षेत्रमा ठुलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठुलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने छ,” उहाँले भन्नुभयो ।