सर्लाही समाचारदाता
सर्लाही, मङ्सिर २६ गते । अधिकांश चिनी मिल पुस पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । प्रत्येक चिनी उद्योगमा अहिले मिलका उपकरण मर्मत, परीक्षण र कामदार जुटाउनेसहितका तयारी गरिरहेका छन् । सरकारले उखुको मूल्य तोकिसकेकाले चिनी उद्योगले पनि अब धमाधम मिल सञ्चालन गरेर उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका हुन् । सर्लाहीमा तीन वटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले मिल सञ्चालन गर्नुअघि गरिने डोङ्गा पूजा गरिसकेका छन् । महालक्ष्मी चिनी उद्योगका प्रशासकीय प्रमुख शिवशङ्कर महतोले पुस पहिलो साता मिल सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार महालक्ष्मीले यो वर्ष २० देखि २२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । महालक्ष्मीले गएको वर्ष १३ लाख ८१ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।
मङ्सिर १४ गते नै डोङ्गा पूजा गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवन पनि पुस लागेपछि मात्रै सञ्चालनको तयारी रहेको छ । इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यसहित मिल सञ्चालनको अन्तिम तयारी भइरहेको बताउनुभयो ।
इन्दुशङ्करले गएको वर्ष ३० लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । अन्नपूर्ण चिनी उद्योग धनकौलका सञ्चालक शैलेन्द्र गुप्ताले अन्य उद्योगभन्दा दुई/चार दिन ढिलो गरी उद्योग सञ्चालन हुने बताउनुभयो । उद्योगमा डोङ्गा पूजा भने शुक्रबार गर्न लागिएको उद्योगपति गुप्ताले बताउनुभयो ।
केही साताअघि उखु किसानले पुरानो बक्यौता रकम माग गर्दै अन्नपूर्ण चिनी उद्योगविरुद्ध आन्दोलन नै गरेका थिए । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उखुको मूल्य प्रतिक्विन्टल उद्योगीले ६२० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।