काबुल, मङ्सिर २५ गते । पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार फर्कने पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसम र एयरपोर्ट हुँदै अफगानिस्तानमा प्रवेश गरेका थिए । सबै फर्केका परिवारले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा पुग्न निः शुल्क यातायातसहित तत्काल सहायता प्राप्त गरेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चयुक्तले यस वर्ष अहिलेसम्म इरान, पाकिस्तान र अन्य देशबाट करिब २७ लाख अफगान नागरिक स्वदेश फर्केको बताउनुभएको छ । बाँकी अनुमानित ६० लाख अफगान शरणार्थी मध्ये अधिकांश कागजातविहीन छन् भने उनीहरु मुख्यतया इरान र पाकिस्तानमा रहेका छन् । रासस/सिन्ह्वा