राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर २५ गते । स्याङ्जाका आमाहरुले पञ्चेबाजा घन्काएका छन् । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तगर्त भीरकोट नगरपालिकामा गरिएको जिल्ला स्तरीय प्रतियोगितामा आमाहरुले पञ्चेबाजा घन्काएका हुन् । प्रतियोगितामा व्यवसायिक रुपमा बाजा बजाउँदै आएका आमाहरु देखि सिक्दै गरेका आमाहरुको पनि सहभागिता रहेको थियो ।
“प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नारासहित एकीकृत विकास कार्यालय स्याङ्जाले भीरकोट नगरपालिकासँगको समन्वयमा आमाहरु बीच पञ्चेबाजा बजाउने प्रतियोगिता गरेको हो ।
सहभागी आमा समूहहरुले पञ्चेबाजाको लयमा हिंसाविरुद्धको सन्देशसँगै संस्कृतिको मर्म जोगाउने सन्देश दिएका थिए ।
प्रतियोगितामा भीरकोट–६ को एकुवार मगर पञ्चेबाजा समूह प्रथम भएको छ । यस्तै राम्चेदेवी उद्यमशिल महिला समूह फेदीखोला द्वितीय,मातृभूमि आमा समूह पुतलीबजार तृतिय तथा विर्घा महिला पञ्चेबाजा समूह कालिगण्डकी सान्त्वना भएका एकीकृत विकास कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । विजेताहरूले क्रमशः १२ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका उहाँको भनाई छ ।
कार्यक्रममा बोल्नुहँदै भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्मचार्यले हिंसाले समाजलाई बिगार्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नु भयो । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले महिलाहरुको हक हितका लागि नगरपालिकामा न्यायीक समिती हुने जानकारी गराउँदै परिवार, समाज वा कार्यक्षेत्रमा हुने सबै खाले महिला हिंसा विरूद्ध महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा जिल्लाका विभिन्न महिला बाजा समूहको सहभागिता रहेको थियो । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत एकीकृत विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै पालिकामा पुगेर बिभिन्न कार्यक्रम गर्दै आएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।