ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपक श्रेष्ठलाई बाजागाजासहित बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ गरिएको छ ।
बिहीबार विद्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा नौमती बाजासहित शिक्षक, अभिभावक र विद्यार्थीले श्रेष्ठलाई गाडीमा राखेर बजार परिक्रमा गराएका थिए । बजार परिक्रमा क्रममा बजारवासीले शिक्षक श्रेष्ठलाई फूलमाला, अविर र खाँदा लगाएर नागरिक अभिनन्दन समेत गरे ।
शिक्षक श्रेष्ठ विद्यालयमा २०६७ देखि २०६९ सम्म प्राचार्य र २०६९ देखि २०८२ मङ्सिर १७ सम्म प्रधानाध्यापक भई विद्यालयको शैक्षिक विकासमा योगदान गरेको भन्दै अभिनन्दनसहित बिदाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
बिदाइ कार्यक्रममा बजारवासीको समेत सहभागिता रहेको थियो । विद्यालयले गाडीमा चढाएर बाजागाजासहित बेनी नगरपालिका ८ स्थित संगमचोकमा रहेको श्रेष्ठको घरमा पुर्याइएको छ ।