• २५ मङ्सिर २०८२, बिहिबार

हत्या आरोपमा एक पक्राउ

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २५ गते । बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र बर्दिया प्रहरीको संयुक्त टोलीले आज विहान पौने ३ बजे मंझराको एक खाली घरमा सुतिरहेको अवस्थाबाट चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार बर्दिया घटनापछि फरार चौधरीलाई प्रहरीले वनमासमेत खोजेको थियो । राति एउटा खाली घरमा सुतिरहेको अवस्थाबाट उनलाई पक्राउ गरेको विष्टले बताउनुभयो। 

चौधरीमाथि पेस्तोलले गोली हानेर दाङको तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको हत्या गरेको आरोप लागेको छ । उनी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । 

आइतबार बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको हमार थारु घर एण्ड थारु रेस्टुरेन्टमा विहान ११ बजेतिर चौधरीमाथि गोली प्रहार भएको थियो । गोली प्रहार घटनाको मुख्य अभियुक्त रहेका भनिएका हमार थारु घरका संचालक चौधरी घटनापछि फरार भएका थिए । उनी कैलालीमा लुकेको भन्ने बर्दिया प्रहरीले दिएको सूचनाको आधारमा दुवै जिल्लाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । पक्राउ परेका चौधरीलाई विहानै बर्दिया लगिएको छ । 

उनले जङ्गलको एउटा रुखमा लुकाएर राखेको पेस्तोल प्रहरीले बरामद गरेको छ । यसैगरी, नम्बर प्लेट उल्लेख नभएको मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।