• २५ मङ्सिर २०८२, बिहिबार

पहिलो त्रैमासिकको ८३ प्रतिशत काम सम्पन्न

blog

खेमराज सापकोटा

रानी (मोरङ), मङ्सिर २५ गते । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३.३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । 

चालु आर्थिक वर्ष २०८२–८३ को यो अवधिमा सो प्रगति हासिल गरेको कार्यालय प्रमुख डा. विदुरप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयले ४७.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गौतमका अनुसार सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको छ ।

कार्यालयले विराटनगरको रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जानकारी दिएको छ ।

अवैध रूपमा भित्रिने जोखिमयुक्त पशु तथा पशुजन्य सामग्री रोकथाम, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै कार्यालयले आयातकर्ता तथा निर्यातकर्ता उद्योगसँग नियमित समन्वय गरिरहेको जनाएको छ । 

प्रतिवेदनअनुसार अवैध सामग्री नष्ट गर्ने अभियान यस त्रैमासिकमा झनै सशक्त रूपमा अघि बढाइएको छ । कार्यालयका टोलीले पहिलो त्रैमासिकमा ३२ पटक अनुगमन गरी ठुलो परिमाणका अवैध पशुजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

नष्ट गरिएका सामग्रीमध्ये २४० केजी ब्रोइलर कुखुरा, ३२९ वटा बोइलर कुखुरा, सेतो अण्डा २९ क्रेट, पहिचान नखुलेको आलो मासु १०४ केजी, प्याकेज सि फिस ३० केजी, एकुरियम माछा १० पिस, फ्रोजन फिस ७३५ केजी, माछाको सिद्रा २० केजी छन् ।

भारत–नेपाल सीमाबाट भित्रिने पशुचौपायाको स्वास्थ्य परीक्षण, सङ्क्रमण जोखिम रोकथाम तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको उल्लेख गरिएको छ । साथै सो अवधिमा आयातित कच्चा पदार्थको गुणस्तर जाँचका लागि नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण पनि गरिएको कार्यालयको दाबी छ ।