• २५ मङ्सिर २०८२, बिहिबार

नमुना लन्डन ब्रिजमा आकर्षण बढ्दै

blog

मेलामा निर्माण गरिएको नमुना लन्डन ब्रिज ।तस्बिर : भुवन कार्की

रुपन्देही समाचारदाता 

रुपन्देही, मङ्सिर २५ गते  । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी आठौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव–२०८२ को प्रवेशद्वारमा निर्माण गरिएको नमुना लन्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ । 

लन्डन सहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लन्डन ब्रिज) को नमुना बनाइएको उक्त गेटमा दर्शकले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । लन्डनमा पर्यटकको एक महìवपूर्ण गन्तव्य रहेकोे लन्डन ब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष प्रेम जिएमले बताउनुभयो । महोत्सव स्थलको लन्डन ब्रिजमा टिकटक बनाउँदै गरेकी तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, “मेला हेर्नभन्दा पनि टिकटक बनाउन लन्डन ब्रिजमा आएका हौँ, निकै रमाइलो लागेको छ ।”

महोत्सव स्थलमा निर्माण गरिएका काश्मीर भ्याली, जलपरी, फ्रान्सको आइफिल टावर, बाल उद्यानलगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सव दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेका जिएमले उल्लेख गर्नुभयो । 

महोत्सवले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सिर्जना गरेको र सानाठुला सबै उद्योगी व्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाइ छ । 

मङ्सिर १५ गतेबाट सुरु भएको महोत्सव पुस १ गतेसम्म चल्ने छ । मेलामा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यव्रmम संयोजक युवराज पराजुलीले बताउनुभयो । 

मेला सफल पार्न तिलोत्तमाका सबै सङ्घ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग रहेको पराजुलीले बताउनुभयो । 

मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ रहेका छन् ।