• २५ मङ्सिर २०८२, बिहिबार

लोकमार्गका पुल निर्माण अलपत्र

blog

लुम्सखोलामा अलपत्र परेको पक्की पुल । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, मङ्सिर २५ गते  । नाग्म–गमगढी लोकमार्ग अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्म तीन वटा पक्की पुलको निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । उक्त पुल अलपत्र हुँदा सवारीसाधन आउजाउमा कठिनाइ भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाले २०७८ फागुन ९ गते हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग ३२ करोड ६८ लाख ९२ हजार रुपियाँमा सम्झौता भएको थियो । उक्त कम्पनीले कालीकाखेतु–बाजागाड–विष्टबाडा–रोकायाबाडा–पिना–झ्यारीखोला–गमघाटखोला–लुम्स– गोठीजिउला त्यसै गरी काठेखोलासम्म नाग्म–गमगढी लोकमार्गको नदी र खोला खण्डमा पर्ने १० वटा पक्की पुलको निर्माण २०८२ भदौ ८ भित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो ।  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार उक्त निर्माण कम्पनीले हालसम्म सात वटा पुल मात्र सम्पन्न गरेको छ । कालीकाखेतु, गोठीजिउला र लुम्सखोला गरी तीन वटा पुल निर्माण गर्न बाँकी रहेको जानकारी उहाँले दिनुभयो । यी पुल निर्माण गर्नलाई निर्माण कम्पनीले समयावधि थप्नलाई कार्यालयमा निवेदन दिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । 

लोकमार्गका साइट इन्जिनियर वीरबहादुर जिटीले निर्माण प्रालिले हालसम्म नाग्म–गमगढी लोकमार्ग अन्तर्गत पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिकाको बाजागाड–विष्टबाडा; रोकायाबाडा–कालीकाखेतु–पिना–झ्यारीखोला–गमघाटखोला र काठेखोलासम्म दायाँबायाँ पिल्लरको काम मात्र भएको बताउनुभयो । अन्य खण्डमा कुनै पनि काम नभएको जानकारी उहाँले दिनुभयो । पक्की पुल निर्माणको ढिलासुस्ती भएका कारण लोकमार्ग अन्तर्गत पर्ने तीन वटै पक्की पुलको निर्माण सम्बन्धित निर्माण प्रालिले काम नगर्दा नदी र खोलामा आउजाउ गर्ने चारपाङग्रे र दुईपाङ्ग्रे साधनलाई सास्ती भएको गाडीचालक पुष्प वलीले बताउनुभयो ।