• २४ मङ्सिर २०८२, बुधबार

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी

blog

नेकपा एमालेको महासचिव पदका दावेदार उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ।

नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर २४ गते । नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ । केन्द्रीय पदाधिकारी तथा सदस्यमा गरी अहिलेसम्म १४ जना नेताले आकांक्षा देखाउनुभएको हो ।

हाल उपमहासचिव रहनुभएका पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी छ । उहाँले आफू महासचिवको उम्मेदवार रहने सार्वजनिक घोषणासँगै तयारी गरिसक्नुभएको छ । हालका केन्द्रीय सदस्य रहनुभएका टुका हमाल, जमीन्द्रमान घले, डा.भीष्म अधिकारी र कल्पना थापाले यस पटक पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, हाल गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी, लमजुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी, किसान महासङ्घका गण्डकी प्रदेशका अध्यक्ष गोवर्धन गौलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

महिलातर्फबाट केन्द्रीय सदस्यमा उठ्नका लागि गण्डकी प्रदेश सांसद यशोदा रिमाल र लक्ष्मी अधिकारीले तयारी थाल्नुभएको छ । यसैगरी उत्पीडित दलित कोटामा गण्डकी प्रदेश सदस्य नन्दराम विक र युवा कोटामा गण्डकी प्रदेश सदस्य हीरालाल विश्वकर्माले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।       

आयोजक समिति, प्रदेश कमिटी, विभिन्न जनवर्गीय सङ्गठन र लमजुङ भूगोलबाट गरी महाधिवेशन प्रतिनिधिमा १८ जना रहनुभएको छ  । जिल्लाबाट मतदान प्रक्रियाबाट जिल्ला अध्यक्ष राजकुमार विष्टसहित सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी, यशोदा रिमाल, पद्मा गुरुङ, लक्ष्मी अधिकारी, हीरालाल विश्वकर्मा, नन्दराम विश्वकर्मा र जुन तामाङ छनाेट हुनुभएको थियो ।

केन्द्रीय उप महासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टीका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय कार्यालय सचिव डा.भीष्मनाथ अधिकारी, केन्द्रीय सदस्य कल्पना थापा, केन्द्रीय अनुशासन समितिका सदस्य मायानाथ अधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । 

यसैगरी लमजुङ भूगोल रहनुभएका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष गोवर्धन गौली पनि महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।