• २४ मङ्सिर २०८२, बुधबार

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

blog

कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वनकोे माटो उत्खनन गरेको ठाउँ । तस्बिर : निराजन परियार

निराजन परियार

चौमाला (कैलाली),मङ्सिर २४ गते । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ ।

सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष, वन कर्मचारी र जनप्रतिनिधीको मिलेमत्तोमा जथाभाबी माटो निकालेर बिक्री वितरण भइरहेको छ । टिप्परको प्रयोग गरी वनभित्रै स्काभेटर लगेर माटो उत्खनन गरी टिप्परमा ओसार्ने गरेको स्थानीयले बताएका छन् । 

संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीकै संग्लनतामा नै उत्खनन भइरहेको हो । सब डिभिजन वन कार्यालय गोदावरीका प्रमुख वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले आफूलाई माटो उत्खननका बारेमा कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले सामुदायिक वनको माटो कानुनी रूपमा पनि बिक्री वितरण गर्न नपाइने बताउनुभयो। 

जिम्मेवार निकाय नै उत्खननन कर्ताको पक्षपोषमा लाग्दा प्राकृतिक सम्पदाको दोहन भइरहेको छ । दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिबा कडायतले स्थानीय ठेकेदारलाई माटो उत्खनन गरेर दिएको स्वीकार गर्नुभयो । उहाँले सामुदायिक वनभित्र नर्सरी बनाउने भएकाले स्थानीय ठेकेदारले सामुदायिक वनभित्र तारजाली गरिदिने शर्तमा माटो दिएको बताउनुभयो । 

सामुदायिक वनले माटो निकाली स्थानीय ठेकेदारलाई बिक्री वितरण गर्दै आएकोे स्थानीय बासिन्दाले जनाएका छन् । सरकारी सम्पत्ति र वन संरक्षणका लागि क्रियाशील रहेको व्यक्तिबाट जथाभाबी माटो निकाल्ने कार्य भएको स्थानीय लक्ष्मी खत्रीले बताउनुभयो । उहाँले दुई महिना देखी माटो उत्खनन गर्ने काम भइरहेको र स्थानीयहरू अवरोध गर्दा डर धम्की दिने गरेको बताउनुभयो । 

वनका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध ढङ्गले माटो बिक्री गरेर लाखौँ रुपियाँ राजस्व समेत हिनामिना भएको स्थानीय रतनबहादुर थापामगरले बताउनुभयो ।अहिलेसम्म लाखौँ रुपियाँका माटो बिक्री वितरण गरिसकेकोे उहाँको भनाइ छ ।

माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै आएका छन् । स्थानीय बजारमा माटोको प्रतिटिप्पर चार हजारदेखि पाँच हजार रुपियाँ पर्छ ।