• २३ मङ्सिर २०८२, मङ्गलबार

सिग्रेदोभान पुल वैशाखभित्र सम्पन्न गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मकवानपुर र काभ्रे जिल्लामा निर्माणधीन योजनाहरूको स्थलगत निरीक्षणमा ।

राममणि दाहाल

मकवानपुर, मङ्सिर २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका र काभ्रे जिल्लाको खानीखोला क्षेत्रमा निर्माणाधीन विकास आयोजनाको स्थलगत निरीक्षणका वर्षौदेखि अलपत्र अवस्थामा रहेको सिग्रेदोभान पुल वैशाखसम्म निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो  । 

बागमती–खानिखोला जोड्ने सिग्रेदोभान पक्की पुलको प्रगति बुझ्दै निर्माण क्षेत्रबाटै टेलिफोनमार्फत आगामी वैशाखभित्र जनमुक्ति मार्गअन्तर्गतको उक्त पुल निर्माण सम्पन्न गर्न प्रदेश सरकारले निर्माण कम्पनीका प्रतिनिधिलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने बताउनुभयो । 

मुख्यमन्त्री बानियाँले सो अवसरमा आयोजनाहरूको स्थलगत अवलोकन गर्न पुगेका प्रदेश सरकार मातहतका पूर्वाधार कार्यालयका प्रमुखलाई पुल आगामी वैशाखसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढाउन प्राविधिकलगायत योजनास्थलमा आवश्यक सहयोग र सहजिकरणका लागि निर्देशन दिनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले झुरझुरे–ज्यामिरे जोड्ने पक्की पुलको  प्रगतिका बारेमा जानकारी लिँदै सार्वजनिक निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति चासो र तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

विकास आयोजनाहरूको निरीक्षणका क्रममा बागमती प्रदेशका सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङलगायतको उपस्थिति थियो ।

मुख्यमन्त्री बानियाँले मकवानपुर जिल्लाको बागमती  गाउपालिका,  काभ्रेको खानीखोला र महाभारत क्षेत्रमा सञ्चालनमा रहेको योजनाले स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै निर्माणको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।