काठमाडौँ, मङ्सिर २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ ।
राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ ।
मङ्गलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताउनु भयो । यी तीन पक्षबिचको सहमतिबाट मात्र अघि बढनुपर्ने उहाँको माग छ ।
उहाँले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराउनु भयो ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनु होस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।” रासस