• २३ मङ्सिर २०८२, मङ्गलबार

भन्सार एजेन्ट आन्दोलित

blog

फाइल तस्बिर ।

विराटनगर, मङ्सिर २३ गते ।  सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् ।

सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ ।सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रलेसमेत समर्थन जनाएको छ ।

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताउनुभयो । 

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा आजदेखि कार्यालयमा काम बन्द गरिएको बताउनभयो ।

 आन्दोलनका कारण भन्सार आयात निर्यातको जाँच पास रोकिएको छ । विराटनगर भन्सार कार्यालयले सरकारले तोकेको अनुसार दैनिक करिब १४ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य पाएको छ । आन्दोलनका कारण सो लक्ष्य प्राप्तिमा असर परेको छ ।रासस