• २५ मङ्सिर २०८२, बिहिबार

पाकिस्तानका लागि आइएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

blog

इस्लामाबाद, पाकिस्तान, मङ्सिर २३ गते । पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ । 

ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मिहिनेत’को प्रमाणको रूपमा वर्णन गरिएको छ । आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत गरेको हो । आइएमएफले उद्धार कोष र एक जलवायु स्थिरता कोष गरी ३.३ अर्ब डलरको दुई ऋण सुविधा अन्तर्गत सहयोग प्रदान गरिएको जनाएको छ । 

आइएमएफका उपप्रबन्धक निर्देशक नाइजेल क्लार्कले एक वक्तव्यमा भन्नुभयो, “पाकिस्तानले पछिल्ला केही सङ्कट र खास गरी गत वर्षायामको विनाशकारी बाढीको सामना गर्दा पनि आर्थिक स्थिरता कायम राख्न आइएमएफले मद्दत गरेको छ ।” पाकिस्तानको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्षसम्म ३.२ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । यो गत वर्षको अनुमानित ३.० प्रतिशतभन्दा बढि हो ।  

त्यसै गरी, मुद्रास्फीति यस आर्थिक वर्षमा औसत ६.३ प्रतिशत रहने छ, जुन सन् २०२४ जुनसम्मको वार्षिक २३.४ प्रतिशतको औसतबाट ठुलो गिरावट हो । क्लार्कले राज्यमा स्वामित्व भएका कम्पनीको थप सुधार र निजीकरण साथै चरम मौसम घटनाको जोखिम कम गर्न जलवायु परियोजनामा निरन्तर लगानीको आवश्यकता पनि औँंल्याउनुभयो ।  

क्लार्कले विपद कोषमा हुने भ्रष्टाचार विरुद्ध नयाँ प्रयासको आवश्यकता रहेको बताउनुभयो । सरकारले हालै छली सम्बन्धी तयार गरेको प्रतिवेदनलाई ‘सरकारी सुधारलाई तीव्र पार्ने स्वागत योग्य कदम’ को रूपमा स्वागत गरेको छ । प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा नयाँ ऋणलाई ‘पाकिस्तानको आर्थिक स्थायित्व र वृद्धिको प्रमाण’ को रूपमा वर्णन गर्नुभयो । 

उहाँले भन्नुभयो, “देशलाई आर्थिक सङ्कटको किनारबाट फर्काएर स्थिरता र विकासको मार्गमा लग्नु एक कठिन चरण थियो र यसका लागि देशबासी सबैको योगदान प्रशंसनीय हुने छ ।” पाकिस्तानले सन् २०२३ मा आफ्नो ठुलो ऋणको बोझबाट उठ्न आइएमएफबाट प्राप्त ‘एक्सटेन्डेड फन्ड फ्यासिलिटी नामक उद्धार कोष’ प्राप्त गरेको छ र यो आगामी वर्षमा कुल सात अर्ब डलर पुग्ने छ । 

यस सम्झौता अन्तर्गत पाकिस्तानले सम्पत्ति शुद्धिकरण र देशमा आतङ्कवादको कथित वित्त पोषण पनि समावेश भ्रष्टाचार विरूद्धको अभियानको सामना गर्ने प्रतिबद्धता पनि जनाएको छ । नोभेम्बरमा आइएमएफले पाकिस्तानी सरकारको अनुरोधमा गरिएको समीक्षा प्रकाशित गरेको थियो जसले ‘व्यापकरूपमा राज्यको नियन्त्रणमा रहेको अर्थतन्त्रमा निरन्तर र व्यापक भ्रष्टाचार जोखिम’ रहेको उल्लेख गरेको थियो । 

यसले ‘आर्थिक वृद्धि, लगानी, र सार्वजनिक विश्वासमा महत्त्वपूर्ण नकारात्मक प्रभाव’ रहेको रिपोर्ट दिएको थियो भने ‘कानुनको शासन र भ्रष्टाचार विरोधी संस्थाको कार्य सम्पादनलाई अघि बढाउन कदम चाल्न’ आग्रह गरेको थियो । पाकिस्तान अर्जेन्टिना र युक्रेन पछि आएएमएफको सबैभन्दा ठुलो ऋणी मध्ये एक हो । यसले जनवरीमा विश्व बैँकबाट १० वर्षका लागि २० अर्ब डलरको वित्तीय प्याकेज पनि पाएको छ । रासस/एएफपी