नोमपेन्ह/बैंकक, मङ्सिर २३ गते । दुई देशबिचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाइल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरेपछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ ।
कम्बोडियाको सङ्घिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउँदै घटनाको पुष्टि गर्नु भएको छ । उहाँले आक्रमणलाई “अमानवीय र क्रूर”भन्दै आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा अक्टोबर-२६ मा दुवै देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताउनु भएको छ ।
बैंककमा, थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यो सँगै आइतबार लडाइँ पुनः सुरु भए देखि मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको जनाइएको छ । सेनाले विज्ञप्ति जारी गर्दै एकजना सैनिकको डिसेम्बर-८ मा र दुई जना डिसेम्बर-९ मा मृत्यु भएको उल्लेख गर्दै थाइल्यान्डले थाई क्षेत्रबाट कम्बोडियन सेनालाई निष्कासन गर्न कदम चाल्ने जनाएको छ ।
थाइल्यान्ड-कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रमा लामो समय देखि विवाद छ, जुन विवाद एक शताब्दी भन्दा पुरानो हो । जसका कारण सशस्त्र झडप बिच-बिचमा भइरहेको जनाइएको छ भने सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारी भएको थियो ।
गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि तनाव फेरि बढेको थियो । घटनापछि दुवै पक्षले आफ्नो सीमा तैनातीलाई उल्लेखनीय रूपमा बलियो बनाएको र कूटनीतिक प्रयास असफल भएपछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ । रासस/क्युएनए