• २३ मङ्सिर २०८२, मङ्गलबार

बेँसीसहर नगरपालिकालाई राष्ट्रपति रनिङ्ग शिल्ड

blog

राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि लिँदै बेँसीसहर नगरपालिका टिम । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर २३ गते । लमजुङमा सञ्चालित १७ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेँसीसहर नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ६ कास्य प्राप्त गरी बेँसीसहरले राष्ट्रपति रनिङ्ग शिल्ड हात पारेको हो ।

प्रतियोगितामा राइनास नगरपालिकाले ८ स्वर्ण, ११ रजत र ११ कास्यसहित द्वितीय स्थान र मध्यनेपाल नगरपालिकाले ६ स्वर्ण, ४ रजत र ६ कास्य प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।  राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति लमजुङले मर्स्याङ्दीको ङादीमा प्रतियोगिताको आयोजना गरेको थियो ।  

विजयी खेलाडी तथा टिमलाई मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ, जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष सुमन श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष गुरूङले खेलकुदले समाजमा एकता, अनुशासन र राष्ट्रिय गौरव बढाउने महत्त्व औँल्याउँदै विजयी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। 

कार्यक्रममा वडा नं–७ का अध्यक्ष तिलबहादुर गुरूङ, वडा नं–६ का अध्यक्ष मिनराशी गुरूङ, बेँसीसहर नगरपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य हिरालाल विक, खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षक र  स्थानीय तहका खेलाडीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

आगामी १८ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुन्दर बजार नगरपालिकामा आयोजना हुने कोषाध्यक्ष रवि थापाले जानकारी दिनुभयो ।