• २३ मङ्सिर २०८२, मङ्गलबार

अलपत्र सामूहिक आवास भवन दुर्व्यसनीकर्ताको थलो बन्यो

blog

लालबन्दी नगरपालिका–२, पुनर्वासमा अलपत्र रहेको सामूहिक आवास भवन । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, मङ्सिर २३ गते ।
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनःवासस्थित पाँचकुमार प्राथमिक विद्यालय पछाडि निर्माण गरिएको सामूहिक आवास भवन वर्षौदेखि अलपत्र रहेको छ ।

सात वर्षअघि निर्माण गरिएको भवन प्रयोगमा आउन नसक्दा दुर्व्यसनीकर्ताले लागुऔषध सेवन गर्ने थलो बनाएका छन् । पुनःवासका स्थानीय भोगिन्दर पासवानका अनुसार यो भवनमा अहिले लागुऔषध सेवनका लागि हुलका हुल युवा आउने गरेका छन् ।

भवनलाई यस्तै हालतमा छाडिए आपराधिक पृष्ठभूमीका मानिसको आश्रय स्थल बन्न सक्ने पासवानको चिन्ता छ । “राज्यले यत्रो पैसा खर्च गरेर अरुनै केही काम गरेको भए सदुपयोग हुन्थ्यो होला, तर यहाँ त भवन बनेर पनि त्यसै खेर गइरहेको छ,” पासवानले भन्नुभयो, “दिनैपिच्छे हुलका हुल मान्छे आएर गाँजा र ट्याब्लेट खाने ठाउँ मात्रै भएको छ ।”

एकान्त ठाउँसमेत पर्ने भएकाले विद्यालयकै आडमा रहेको यो भवनमा लागुऔषध सेवन गर्न नचिनेका मानिससमेत आउने गरेका पासवानको भनाइ छ । पुनःवास दलित पासवान समुदायको बसोवास रहेको बस्ती हो ।

सङ्घीय सरकारले स्थानीय अतिविपन्न तथा विपद्मा परेका व्यक्तिलाई राख्न दलित बस्तीमा सामूहिक आवास भवन निर्माण गरेको हो । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत पुनःवासका उक्त भवन निर्माणका लागि एक करोड रुपियाँ खर्च भएको छ ।

लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्काका अनुसार ५०/५० लाख खर्चिएर एकै ठाउँमा दुईवटा सामूहिक आवास भवन निर्माण गरिएको छ । वडा र नगरपालिका कार्यालयले सात वर्ष अघिनै भवन तयार नहुँदै स्थानीय केही विपन्न दलित परिवारलाई यो भवनमा ल्याएर राख्ने प्रयास गरेका थिए ।

त्यसबेला कोही पनि आफू बसिरहेको ठाउँ छाडेर भवनमा आएर बस्न नमानेका निवर्तमान नगरप्रमुख खड्काको भनाइ छ । निवर्तमान नगरप्रमुख खड्काले भन्नुभयो, “हामीले त्यो बेला भवनमा बस्नेहरुको नामावली पनि तयार पारेका थियौँ, तर कोही पनि बस्न मान्नु भएन ।”

लालबन्दी ५ रन्जितपुरमा यस्तै सामूहिक आवास भवन बनाउँदा स्थानीय मुसहर समुदाय भवनमा बस्न आए पनि पुनःवासमा भने कोही पनि बस्न नमानेका खड्काको भनाइ छ । लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरणकुमार पासवानले अलपत्र भवनमा अब छेउमै रहेको पाँचकुमार प्राथमिक विद्यालय सार्ने योजना बनाइएको बताउनुभयो ।

यो वर्षदेखि भवन प्रयोगमा ल्याउने वडाध्यक्ष पासवानले दाबी गर्नुभयो । “विद्यालयमा अहिले जस्ताको छानो रहेकाले गर्मीयाममा जस्ता तातेर पठनपाठन गराउनै समस्या छ,” वडाध्यक्ष पासवानले भन्नुभयो, “अब त्यही अलपत्र रहेको भवनलाई नै फिनिसिङ गरेर विद्यालय सार्ने सोच्दै छौँ ।”

अलपत्र सामूहिक आवास भवनको रङ्गरोगनसहित फिनिसिङको काम गर्न मधेश प्रदेश सरकारबाट २० लाख रुपियाँ बजेटसमेत विनियोजन भएर आएको वडाध्यक्ष पासवानले बताउनुभयो ।