‘नयाँ माध्यम’ (न्यू मिडिया) शब्दावलीमा आएको ‘नयाँ’ शब्दको अर्थ सन्दर्भअनुसार लगाउनु पर्ने हुन्छ । कुनै जमानामा छपाइ मेसिन (मुद्रण यन्त्र) पनि नयाँ थियो । रेडियो तथा टेलिभिजन पनि जुन बेला सुरु भएका थिए, त्यतिबेला नयाँ नै थिए तर आजको सन्दर्भमा पुरानो प्रविधिबाट सञ्चालन हुने पत्रपत्रिका, रेडियो तथा टेलिभिजन माध्यमहरू पुराना माध्यम मानिन्छन् किनभने तीभन्दा झन् नयाँ माध्यम आइसकेको छ ।
वर्तमान परिप्रेक्ष्यमा ‘नयाँ’ भनेर डिजिटल प्रविधिको प्रयोगलाई इङ्गित गरिएको हो । कम्प्युटर तथा मोबाइल फोनमार्फत मानिसले दूरसञ्चार, सूचनाप्राप्ति र मनोरञ्जन लगायतको संकेन्द्रित प्रयोग गरिरहेका छन् । अनलाइन समाचार माध्यम, सोसल मिडिया, ब्लग, भिडियो गेम आदिलाई सञ्चारविद्हरूले ‘नयाँ माध्यम’ भनेर उल्लेख गरेको पाइन्छ ।
रबर्ट लोगनले आफ्नो पुस्तक अण्डरस्ट्याण्डिङ न्यु मिडियामा ‘नयाँ माध्यम’ भन्नाले त्यस्ता डिजिटल माध्यम हुन्, जो अन्तक्र्रियात्मक (इन्टरएक्टिभ) छन्, दोहोरो सञ्चार सम्मिलित गर्छन् र कम्प्युटिङको कुनै न कुनै स्वरूप प्रयोग गर्छन् भन्ने परिभाषा दिएका छन् । द न्यु मिडिया रिडर पुस्तकमा ‘नयाँ माध्यम’ का विज्ञ प्राध्यापक लेव् म्यानोविच्ले यो माध्यम कम्प्युटरमा आधारित रहेको वा वितरणका लागि कम्प्युटरमा निर्भर रहेको विश्लेषण गरेका छन् । ‘नयाँ माध्यम’ अनिवार्यतः डिजिटल प्रविधिमा आधारित छन् ।
‘नयाँ माध्यम’ को उद्भव, विकास र प्रयोगमा कम्प्युटर प्रविधिको निर्णायक प्रभाव देखिएको छ । कम्प्युटर र इन्टरनेटको आविष्कारपछि त्यसको प्रभाव सञ्चार क्षेत्रमा पनि प¥यो र सूचना तथा सञ्चार प्रविधिको विकासका कारणले मिडिया जगत्मा पनि अभूतपूर्व परिवर्तन आयो । सूचना र मनोरञ्जनका लागि वर्तमान समयमा डिजिटल प्रविधिका अनेकौँ उपकरण उपलब्ध छन् । पत्रपत्रिकाका प्रकाशक र रेडियो स्टेसन तथा टेलिभिजन च्यानलका सञ्चालकहरूले पनि आफ्नो सेवालाई ‘नयाँ माध्यम’ मार्फत प्रस्तुत गर्न थालिसकेका छन् । आज ‘नयाँ माध्यम’ लगभग सबै प्रकारका सूचनाहरूको साझाथलो (प्लेट्फर्म) बनिसकेको छ ।
‘नयाँ माध्यम’का लागि कम्प्युटर प्रविधिमा आधारित डिजिटल प्लेटफर्मको प्रयोग सूचनाको वितरण प्रणालीका लागि पनि अनिवार्य रूपमा भइरहेको छ । तसर्थ, कम्प्युटर प्रविधिमा नयाँ विकास हुनासाथ त्यसको प्रत्यक्ष प्रभाव ‘नयाँ माध्यम’मा स्वतः पर्छ । भविष्यमा सूचना तथा सञ्चार प्रविधिमा आउने परिवर्तनसँगै ‘नयाँ माध्यम’ को स्वरूपमा पनि परिवर्तन अवश्यम्भावी देखिन्छ । ‘नयाँ माध्यम’ साँच्चिकै नयाँ भएको हुनाले यो आफ्नो विकासको प्रारम्भिक चरणमा छ र प्रविधिमा हुँदै गरेका तथा भविष्यमा हुने विकाससँगै यसको थप चमत्कार देख्न पाइने आकलन अध्येताहरूको रहेको छ ।
‘नयाँ माध्यम’मा उच्च अन्तक्र्रियात्मकता एक मुख्य विशेषता देखिन्छ । ‘नयाँ माध्यम’का प्रयोगकर्ताहरू केवल लक्षित प्रापकवर्ग मात्र होइनन्, यिनीहरू त सूचना वा अन्तर्वस्तुका सक्रिय उत्पादक पनि हुन् । अर्थात्, ‘नयाँ माध्यम’का प्रयोगकर्ताहरूमा प्रेषक र प्रापक दुइटै भूमिकाको सहविद्यमानता छ । ‘नयाँ माध्यम’को कारणले नयाँ स्वरूपका सञ्चार व्यवहार सम्भव भएका छन् । यसरी डिजिटल सञ्चार सञ्जाल पनि नयाँ माध्यमको एक विशेषताका रूपमा रहेको छ । अनलाइन डिजिटल प्लेटफर्ममा अस्तित्व रहेका भर्चुअल समुदायहरूको प्रभाव वास्तविक समाज वा समुदायमा पनि पर्छ । नयाँ माध्यमको प्रभाव सामाजिक मूल्यमान्यता र सामाजिक रूपान्तरणमा पनि परेको देखिन्छ ।
‘नयाँ माध्यम’मार्फत जति पनि सूचना सामग्री उत्पादन तथा वितरण हुन्छन्, ती डिजिटल तथ्याङ्क हुन् । डिजिटल तथ्याङ्क भएको हुनाले सफ्टवेयरको प्रयोगबाट उक्त सामग्रीलाई आवश्यकता वा रुचिअनुसार परिवर्तन गर्न मिल्छ । यसकारणले एउटै सामग्रीको अनेकौँ स्वरूपमा उत्पादन गर्न मिल्छ । जस्तै कुनै व्यक्तिको फोटो खिचियो भने एउटै मात्र फोटोलाई पनि अनेकौँ तरिकाले सम्पादन तथा प्रस्तुत गर्न सकिन्छ । एकैजना संवाददाताले तयार पारेको समाचार सामग्री मल्टिमिडिया प्लेटफर्ममा अलग अलग स्वरूपमा प्रस्तुत गर्न सकिन्छ ।
‘नयाँ माध्यम’मा पुराना माध्यमको तुलनामा निकै तीव्र गतिमा सूचनाको सङ्कलन, प्रशोधन, सम्पादन एवं वितरण गर्न सकिन्छ । तीव्रतर गति पनि ‘नयाँ माध्यम’ को एक प्रमुख विशेषता हो । ‘नयाँ माध्यम’ मा प्रेषक र प्रापकको आपसी अन्तक्र्रिया पनि वास्तविक समयमै सम्भव हुन्छ, जुन पुराना आमसञ्चारमाध्यममा हुने ढिलो प्रतिक्रिया प्रक्रियाको तुलनामा कता हो कता प्रभावकारी छ ।
सामान्यतया सामाजिक सञ्जाल भन्नाले विशिष्टिकृत वेबसाइटहरू तथा एप्लिेकसनहरूको प्रयोग गरी बनाइएको अनलाइन सञ्जाल (नेटवर्क) बुझिन्छ, जहाँ प्रयोगकर्ताहरूले एकअर्कासँग अन्तक्र्रिया गर्न वा समान रुचि तथा सरोकार भएका मानिसहरूको समूह बनाउन सक्छन् । यो अनलाइन प्लेटफर्म हो, जुन वैयक्तिक, भावनात्मक वा व्यावसायिक सम्बन्ध बनाउन र कायम राख्न प्रयोग गरिन्छ । सामाजिक सञ्जालमा उच्च अन्तक्र्रियात्मकताको सुविधा हुन्छ र सोसल नेटवर्किङ भन्नासाथ प्रयोगकर्ता वा सहभागीहरूको आपसी अन्तर्सम्बद्धता एवं अन्तक्र्रिया अनिवार्य मानिन्छ ।
मानिसहरू सामाजिक सञ्जालमार्फत जोडिएर भर्चुअल समुदायमा सहभागी भई सूचना वा सन्देशको साझेदारी गर्न सक्छन् । अर्थात्, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू उच्च अन्तक्र्रियात्मक वेबसाइट वा एपको माध्यमबाट भर्चुअल समुदाय बनाउन र सूचनाको उत्पादन तथा साझेदारी गर्न पाउँछन् । त्यस्तो सूचना सामग्री शब्द, फोटो, भिडियो, एनिमेसन आदिका रूपमा सम्प्रेषण गर्न सकिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको आपसमा दोहोरो सहभागितायुक्त सञ्चार हुन्छ ।
सामाजिक सञ्जालमा सहभागी हुनका लागि डिजिटल मिडियामा पहुँच हुनुपर्छ । प्रयोगकर्ताहरूले कम्प्युटर (डेस्कटप, ल्यापटप आदि) वा स्मार्ट फोन वा ट्याब्लेट जस्ता मोबाइल उपकरणबाट इन्टरनेटमार्फत सोसल मिडियामा पहुँच बनाउँछन् । सामाजिक सञ्जालको स्वरूप र त्यसमार्फत गर्न सकिने क्रियाकलापको दायरा निकै छिटो छिटो परिवर्तन भइरहेको देखिन्छ । उदाहरणका लागि फेसबुक, ट्वीटर, लिङ्क्ड्इनमा केही वर्ष पहिलेको तुलनामा हाल निकै धरै अन्तक्र्रियात्मक सुविधा उपलब्ध छन् ।
सोसल नेटवर्किङ (सामाजिक सञ्जाल) र सोसल मिडियालाई धेरैजनाले समानार्थकझैँ प्रयोग गरेको देखिन्छ तर सञ्चारविद्हरूले तिनीहरूको फरक फरक अर्थ गर्छन् र उपयुक्त तरिकाले परिभाषित गर्नुपर्नेमा जोड दिन्छन् । सोसल नेटवर्किङले अनलाइन सञ्चारको प्रक्रियालाई जनाउँछ भने सोसल मिडिया भनेका प्रविधि वा उपकरण हुन् । सोसल मिडियाको प्रयोगकर्ता हुनासाथ सोसल नेटवर्किङको सदस्य होइन्छ भन्ने छैन ।
प्रयोगकर्ता वा सहभागीहरूको आपसी अन्तर्सम्बद्धता एवं अन्तक्र्रिया छैन भने सोसल नेटवर्किङ हुँदैन । सोसल नेटवर्किङ हुनका लागि दोहोरो सहभागितात्मक सञ्चार आवश्यक हुन्छ । ब्लगमा सामग्री प्रकाशित गर्नु वा युट्युबमा भिडियो अपलोड गर्नु सोसल मिडियाको प्रयोग हो तर सोसल नेटवर्किङ होइन । फेसबुक, ट्वीटर आदिमा सोसल मिडिया र सोसल नेटवर्किङ दुवैका विशेषताहरू छन् ।
फेसबुकमा कसैले आफ्नो पेज बनाउँछ, आफ्ना फोटो, भिडियो अपलोड गर्छन् तर अन्तक्र्रिया गर्दैन भने त्यो अवस्थामा सोसल नेटवर्किङ नभई फेसबुकलाई सोसल मिडियाको रूपमा प्रयोग गरेको अवस्था मानिन्छ ।
सोसल मिडियाको सर्वमान्य परिभाषा छैन । सोसल मिडियाको प्राविधिक पाटो हेर्ने हो भने यो कम्प्युटर आधारित, इन्टरनेटमार्फत आबद्ध, अन्तक्र्रियात्मक सुविधा भएको प्लेटफर्म हो । सञ्चारअध्येताहरूले सोसल मिडियालाई अन्तक्र्रियात्मक वेब २.० इन्टरनेट आधारित एप्लिकेसन भनेर पनि परिभाषित गरेका छन् ।
सोसल नेटवर्किङ आधुनिक युगको विशेष सञ्चार परिघटनाको रूपमा विकास भएको छ । हामीले सञ्चार गर्ने तरिका, व्यवसाय गर्ने शैली, दैनन्दित व्यवहार सबैमा सोसल नेटवर्किङले प्रभाव पारिसकेको छ । कैयौँ व्यक्ति त सोसल नेटवर्किङ बिनाको जिन्दगीको कल्पना पनि गर्न नसक्ने गरी योबाट लट्ठ परेका देखिन्छन् । कतिपय व्यक्तिका अनेकौँ गतिविधि सामाजिक सञ्जालमा अरूको ध्यानाकर्षण गर्ने उद्देश्यले मात्र प्रेरित भएको पनि पाइन्छ ।
सामाजिक सञ्जालका धेरै फाइदा र बेफाइदा पनि छन् । कुनै एक ठाउँमा बसेर संसारका अनेकौँ ठाउँका मानिसहरूसँग जोडिने अवसर यसले दिएको छ । सहज र तत्काल सञ्चारको सुविधा पनि सामाजिक सञ्जालबाट प्राप्त भएको फाइदा हो । सामाजिक सञ्जालमा आफ्नो रुचि वा सरोकारअनुसारका समूह बनाउन, संवाद गर्न र सामञ्जस्य स्थापित गर्न सजिलो भएको छ । सामाजिक सञ्जालको मद्दतले सामाजिक, सांस्कृतिक, राजनीतिक वा अन्य प्रकारका अभियानहरू सुरु गर्ने प्रचलन पनि संसारभरि नै देखिन्छ ।
समाचार र अन्य सूचनाको प्रवाहमा पनि सामाजिक सञ्जाल अत्यन्त उपयोगी ठहरिएका छन् । विपद् र सङ्कटका समयमा उपयोगी सूचनाको साझेदारी गर्न र राहत वा मद्दत कार्यहरूमा समन्वय एवं सहकार्य गर्न पनि सामाजिक सञ्जालहरू प्रभावकारी माध्यम ठहरिएका छन् । शैक्षिक तथा अनुसन्धान प्रयोजनका लागि पनि सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ र यो मनोरञ्जनको अपार भण्डार पनि हो । यो स्वतन्त्र अभिव्यक्ति र व्यक्तित्व विकासको मञ्च पनि हो । उद्यमशीलताको विकास र व्यवसायको प्रवद्र्धन गर्नका लागि पनि सामाजिक सञ्जालले ठूलो मद्दत पु¥याउन सक्छ ।
अर्कोतिर, सामाजिक सञ्जाल दुरुपयोग गरिएका घटनाहरू पनि बढेका छन् । सामाजिक सञ्जालको अधिक प्रयोगको कारणले मानसिक समस्यामा परेका मानिसहरूको सङ्ख्या बढ्दो छ । सामाजिक सञ्जालमा मात्र भुलेर परिवार र वास्तविक समाजमा अन्तसंवाद, अन्तक्र्रिया नगर्ने व्यक्तिहरूलाई एक्लोपनाको समस्याले सताउने रहेछ भन्ने तथ्य अनेकौँ अनुसन्धानबाट थाहा भएको छ । सामाजिक सञ्जालमा धेरै भुल्ने व्यक्तिको निद्रा खल्बलिने, ध्यान विकेन्द्रित हुने र उनीहरूले आफ्ना जिम्मेवारी राम्ररी पूरा नगर्ने खतरा रहेको अध्येताहरूले बताएका छन् ।
बालबालिका र किशोरकिशोरीहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजानेको कारणले उनीहरूलाई हानि पुगेका धेरै घटना भइसकेका छन् । जुनसुकै उमेरका व्यक्तिको पनि गोपनीयता सामाजिक सञ्जालमार्फत भङ्ग हुन गई नकारात्मक असर पर्ने सम्भावना रहन्छ । उपभोक्तावादी देखासिकीलाई बढावा दिनु पनि सामाजिक सञ्जालको बेफाइदा हो । सूचनाको गेटकिपिङ खासै नहुने भएकाले सामाजिक सञ्जालमार्फत हल्लैहल्ला, मनमौजी गफ, गलत सूचना, घृणा फैलने खालको सामग्री आदिको दुस्प्रचार पनि ज्यादै भइरहेको देखिन्छ ।
व्यावसायिक मूलधारको मिडियाबाट प्रकाशित प्रसारित समाचारमा पहुँच नभएका र जानकारीका लागि सामाजिक सञ्जालमा भर पर्ने व्यक्तिहरू गलत सूचनाबाट पीडित हुने सम्भावना ज्यादै हुन्छ । सामाजिक सञ्जालकै माध्यमबाट सम्पर्क र सम्बन्ध विस्तार गरी ठगी, दुव्र्यवहार, यौन शोषण गर्ने अपराधीहरू पनि हुन्छन् ।
आतङ्कवादी समूहहरूले सामाजिक सञ्जालको प्रयोग गरेर सङ्गठन विस्तार गरेका घटना पनि उजागर भएका छन् । यसरी सामाजिक सञ्जालका फाइदा पनि धेरै छन् र बेफाइदा पनि कम छैनन् । फाइदा हुने वा बेफाइदा हुने भन्ने त सदुपयोग वा दुरुपयोगको कारणले हो । सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ र यसबाट लाभान्वित हुनुपर्छ ।