गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को समूह चरण सम्पन्न भइसकेको छ । प्लेअफ, इलिमिनेटर र अन्तिम भिडन्त मात्र बाँकी हुँदा उपाधि विजेताको धमिलो तस्बिर सफा देखिन थालेको छ । अब गत उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स मात्र उपाधि होडमा बाँकी छन् ।
समूह चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिच मङ्गलबार पहिलो क्वालिफायर खेलिने छ । सो खेलमा जित हासिल गर्ने टिम सिधै फाइनल पुग्ने छ । पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल पुग्ने अर्को मौका रहने छ । काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच बुधबार हुने इलिमिनेटरमा विजयी टिम र पहिलो क्वालिफायरमा हार्ने टिमबिच बिहीबार दोस्रो क्वालिफायर हुने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजेताबिच शनिबार फाइनल खेलिने छ ।
यसपालि सुरुका छ खेल जितेर प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको सुदूरपश्चिम रोयल्सलाई दुई दिनअघि विराटनगर किङ्ग्सले नराम्ररी छ विकेटले हरायो । विराटनगर किङ्ग्सले ४९ बल बाँकी छँदै हासिल गरेको थियो । सो खेलको नतिजाले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा समूह चरणको अन्तिम खेलमा पूर्णविराम मात्र लागेन, उसको उपाधिको सपना विराटनगर किङ्ग्सले चकनाचुर पार्न सक्ने खतरा पनि देखिएको छ । दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान फाप डु प्लेसिसको आगमनले विराटनगर हराउन कठिन टिमको रूपमा देखिएको छ ।
प्रतियोगितामा मध्यभागमा बाटो बिराएको विराटनगर किङ्ग्सले आफ्नो गल्ती पत्ता लगाइसकेको छ । त्यसैले पनि यो टिम अझ खतरनाक देखिएएको छ ।
दुई खेलअघि मात्र नेपाल पुगेका डु प्लेसिसले सुदूरपश्चिमविरुद्ध कीर्तिमान अर्धशतक बनाउनुभएको थियो । उहाँको आगमनले विराटनगरको ब्याटिङ क्रम सशक्त बनेको छ । शीर्ष पाँचमा डु प्लेसिस, अस्ट्रेलियाका बिग ब्यास स्टार साम हेजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल, बसिर अहमद र लोकेश बमको उपस्थितिले विराटनगरको ब्याटिङ क्रम खतरनाक देखिएको छ । बलिङमा पनि कप्तान सन्दीप लामिछानेको सानदार लयले विराटनगरको मनोबल थप उच्च छ । सन्दीपले चालु प्रतियोगितामा सर्वाधिक १५ विकेट लिनुभएको छ । बलिङबाटै खेल पल्टाउन सक्ने दक्षिण अफ्रिकाका तेज बलर मर्चेन्ट डी लाङगेको साथ पनि विराटनगरलाई छ ।
यद्यपि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम बदला लिएर फाइनलमा पुग्ने दाउमा छ । विराटनगरसँगको खेल बिर्सने हो भने सुदूरपश्चिमले निकै प्रभावशाली प्रदर्शन गरेको छ । एक टिमका रूपमा एकजुट भएर खेल्ने भएकाले पनि सुदूरपश्चिम हराउन कठिन टिम हो । विराटनगरसँगको खेलमा कप्तान दीपेन्द्रसँगै अलराउन्डर हर्मित सिंह हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । कुल १४ विकेट लिएर सन्दीपलाई सर्वाधिक विकेटकर्ताको होडमा कडा टक्कर दिने तेज बलर अविनाश बोहोराबाट पनि राम्रो बलिङको अपेक्षा रहने छ । चालु प्रतियोगितामा सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर घरेलु खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् ।
विदेशी खलाडीहरू क्रिस लिन र जोस ब्राउन फर्किसकेको अवस्थामा सदूरपश्चिमले उहाँहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तर अहमद र भारतीय ब्याटर सेल्डन ज्याकसन टिममा ल्याएको छ । यी खेलाडीको प्रदर्शनले पनि सुदूरपश्चिमको अगाडिको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।