शिवा तामाङ
काठमाडौँ, मङ्सिर २३ गते । कलाकार हरेराम जोजिजुले नेपाली कागजमा कोर्नुभएको चित्रकलाले कला पारखीको ध्यान तान्न सफल भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा भइरहेको चित्रण शीर्षकमा आयोजित सामूहिक चित्रकला प्रदर्शनीमा जोजिजु मात्र होइन जलरङका अन्य दुई वरिष्ठ कलाकार एनबी गुरुङ र डी राम पाल्पालीका विशेष छुट्टै विशेषतासहितका सिर्जनाले पनि चित्रकलाका पारखीलाई मन्त्रमुग्ध पारिरहेको छ ।
चित्रकलामा प्रयोग गर्ने थरी/थरीका रङ संयोजन, भावले कला पारखीको ध्यान तान्न सफल त हुन्छन् नै, न्युरो आर्टका प्रशिक्षणसमेत दिनुहुने कलाकार जोजिजुले बनाउनुभएको हिमाल, पहाडका चित्रकलामा पहाडका उबडखाबड सतहसमेत स्पष्ट देख्न सकिन्छ । नेपाली कागजलाई क्यानभासका रूपमा प्रयोग गर्दा उहाँको चित्रकलालाई सोही सामग्रीले विशेष बनाउन भूमिका खेलेको हो ।
उहाँले भन्नुभयो, “चित्रकलाको सिर्जनामा प्रत्येक कलाकारले आफ्नो प्रस्तुतिलाई विशेष बनाउन निरन्तर अभ्यास गरिरहन्छन्, यसै क्रममा आफ्नो देशको उत्पादनको सदुपयोग गर्ने सोचले नेपाली कागजलाई रोजेँ ।” हालसम्म १७ पटक एकल चित्रकला प्रदर्शन गरिसक्नुभएका कलाकार जोजिजुका विशाल क्यानभासमा हिमाली, पहाडी क्षेत्रका धार्मिक सम्पदा, वेशभूषा, कला, प्रकृतिको सौन्दर्य चिरकालका लागि अजर बनेका छन् ।
जलरङमा सुमधुर साङ्गीतिक धुनसमेत सुनेको अनुभव गर्नुहुने कलाकार गुरुङले बनाउनुभएका चित्रकलामा पोट्रेट, मूर्त/अमूर्त शैलीमा अध्यात्म फक्रिरहेको छ । उहाँ विशेष गरी अध्यात्ममा पनि ‘अघोरी’ शृङ्खला पछ्याउँदै अघोरीको गहिरो साधना चित्रमार्फत दर्साउन माहिर कलाकार हुनुहुन्छ । हालसम्म पाँच एकल कला प्रदर्शनीको आयोजना गर्नुभएका कलाकार गुरुङले सामूहिक चित्रकला प्रदर्शनी, कला कार्यशालामा सहभागिता जनाउँदै जलरङमै आफूलाई समर्पित गर्नुभएको छ ।
यसै गरी कलाकार पाल्पालीका चित्रमा पाल्पाको प्रख्यात रानी दरबार, शालीनदीको मेलालगायत नेपाली संस्कृति, परम्पराका विविध मन्दिर, स्तूपा, ऐतिहासिक, धार्मिक सम्पदा देख्न सकिन्छ । लामो समयदेखि जलरङमा खेल्दै आउनुभएका कलाकार पाल्पालीका चित्रकलामा नेपाली जीवनशैली र संस्कृति जीवन्त हुन्छन् । तीन कलाकार जोजिजु, गुरुङ र पाल्पालीका चित्रकलामा कला क्षेत्रमा लामो समयको अभ्यास, साधनाले निखारिएको शैलीमा नेपाली जीवनशैली, शान्ति, भक्ति र अध्यात्म, संस्कृति, परम्परा झल्किन्छ ।
‘चित्रण’ सामूहिक चित्रकला प्रदर्शनीका क्रममा कला कार्यशालाको पनि आयोजना गरिएको थियो । ग्यालरी १०८ ले कलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने माध्यम पनि बन्न सघाउने नेपाली परम्परागत चित्रकला, मूर्तिकला, सम्पदा, जीवनशैली र संस्कृतिकेन्द्रित विषयमा संलग्न कलाकारका सिर्जनालाई स्थान दिएको ग्यालरीले जनाएको छ ।