• २० मङ्सिर २०८२, शनिबार

चलचित्रमा भाषिक शुद्धताका लागि दुई दिने प्रशिक्षण

blog

प्रशिक्षण कार्यक्रममा सहभागी अतिथिहरु ।

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर १९ गते । मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतका चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली भाषामा निर्माण हुने चलचित्र तथा लघुचलचित्रमा भाषिक शुद्धता र साहित्यिक प्रस्तुति सुधार गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । 

जनकपुरधाम स्थित मैथिली विकास कोषको भवनमा सञ्चालन गरिएको उक्त प्रशिक्षणको एक कार्यक्रमबिच कार्यक्रममा सहभागि विद्यार्थी स्वस्तिक मण्डल, चाँदनी खातुन र कुनाल मिश्रले संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो ।

मधेश प्रदेशका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रशिक्षणमा चलचित्र तथा लघुचलचित्र निर्माणको क्रममा हुने मैथिली भाषाको प्रयोग साहित्यिक शैली, प्रयोग हुने संवादलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मार्गदर्शन प्रदान गरिने आयोजकले जनाएको छ । 

चलचित्रमा आवश्यक मैथिली भाषिक शैली, उच्चारण, वाक्य संरचना, व्यावहारिक स्क्रिप्ट लेखन, संवाद लेखन अभ्यास तथा सहभागीकै प्रयासमा लघु स्क्रिप्ट तयार गर्ने कार्यसमेत समावेश गरिएको बोर्डका अध्यक्ष किशोरकुमार लेखीले बताउनुभयो । 

प्रशिक्षणमा मैथिली भाषा–साहित्यका प्राध्यापक तथा मैथिली चलचित्र क्षेत्रमा कार्यरत प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेको र प्रशिक्षणमा ६० जना विद्यार्थीको सहभागिता रहेको बोर्डका प्रशासकीय अधिकृत राधेशंकर पालले जानकारी दिनुभयो ।

बालबालिकाद्वारा निर्माण हुने लघुचलचित्रमा देखिने भाषिक अशुद्धता तथा समाजमा नकारात्मक प्रभाव पार्ने शब्दहरूको प्रयोग सुधार गर्न यस्तो कार्यक्रम उपयोगी हुने भन्दै मैथिलीका प्रसिद्ध गायक एवम संगितकार सुनिल मल्लिकले बताउनुभयो । 

त्यस्तै, चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्य राम स्वागत चौधरीले चलचित्रमा प्रयोग हुने संवादले समाजमा ठुलो प्रभाव पार्ने भएकाले यस प्रकारको प्रशिक्षण पहिलो पटक आयोजना गरिएको र यसले भाषिक शुद्धता कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिने प्रशिक्षणमा मैथिली विषयका उपप्राध्यापक श्यामसुन्दर शशी तथा पुर्णेन्दुकुमार झा प्रशिक्षकका रूपमा प्रशिक्षण दिइरहनुभएको छ ।