प्रवीण कुमार शर्मा
रौतहट, मंसिर १९ गते । रौतहटमा शुक्रवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका –६ मोतियाही पुलनजिक गौर–चन्द्रनिगाहपुर सडक खण्डमा शुक्रबार दिउसो ४ः४० मा गौरबाट चन्द्रनिगाहपुरतर्फ जादैगरेको ना ४ ख ६५४७ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो । घटनामा मोटरसाइकल चालक रौतहट बृन्दावन –२ बिश्रामपुरका ४० बर्षिय नागेन्द्र पटेलको उपचारको क्रममा चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मोटरसाइकलमा सवार पटेलको १५ बर्षिय छोरा प्रिन्सकुमार पटेल, १२ बर्षिय छोरा युवराज पटेल र ११ बर्षिय छोरी आकृति पटेल घाइते भइ चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि बिरगञ्ज पठाइएको उहाँले बताउनुभयो । दुबै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक लाबुङ्ले जानकारी दिनुभयो ।