नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर १९ गते । लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हवलदार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–७ का ४७ वर्षीय बुद्धिराम दराई रहेका छन् ।
बेँसीसहर नगरपालिका–२, भकुण्डेस्थित अस्थायी प्रहरी बिटनजिकै घर हुनुभएकी ४७ वर्षीय सीता धिताल कडेँलको गत चैत ३१ गते शव फेला परेको थियो । गत चैत २६ गते कंडेलको घर आएका दराई राति सँगै सुतेर २७ गते बिहान हत्या गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
बिहीबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ परेका दराईलाई शुक्रबार सार्वजनिक गर्दै लमजुङ प्रहरीले उनीहरूको सम्बन्ध पुरानो रहेको बताएको छ । दराई यसअघि कर्तव्य ज्यान मुद्दामा जन्मकैद फैसला भई कारागार बसेको देखिन्छ । २०६७ मङ्सिर १२ गतेको कर्तव्य ज्यान मुद्दामा गोरखा अदालतबाट २०६८ असार २० गते जन्मकैद फैसला भएको थियो । २०७१ चैत १३ गते सर्वोच्च अदालतबाट १२ वर्ष कैद फैसला भएपछि दराई कैद भुक्तान गरी २०७६ असोज ३ गते धादिङ कारागारबाट छुटेका थिए ।
दराई र कंडेलबिच चितवन कारागार हुँदा चिनजान भएको थियो । दराई कारागारबाट छुटेपछि उनीहरूको नियमित भेटघाट भइरहेको भेटिएको प्रहरीले जनाएको छ । उनीहरूबिच शारीरिक सम्बन्धको साथै आर्थिक लेनदेनसमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको मुख्य कारणबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो । बोहोराले भन्नुभयो, “अहिले नै यही कारणले हत्या भएको भन्ने खुलेको छैन्, प्रारम्भिक अनुसन्धानमा दुवै जनाबिच मनमुटाव भई झगडा हुँदा हत्या भएको देखिन्छ ।”
चैत १२ गते चितवनबाट लमजुङ आएका दराइले २२ गतेसम्म कंडेलको घरनजिकै बसेर उनको निगरानी गरेको प्रहरी अनुसन्धानमा देखिन्छ । प्रहरीका अनुसार २२ गते कंडेल चितवन गएपछि दराई पनि चितवन नै पुग्छन् । २५ गते कंडेल चितवनबाट लमजुङ फर्किएको सूचना पाएपछि २६ गते लमजुङ आएका दराई सीताको घरमा बास बसेको देखिन्छ ।
प्रनाउ बोहोराले भन्नुभयो, “यो बिचमा कंडेलको घरमा उनको आफन्त बहिनी एसइई दिन बसेकाले दराई बाहिर बसेर निगरानी गरेको देखिन्छ । बहिनी चितवन पुर्याएर फर्किएपछि उनी घरमा गएको र राति सँगै बसेर बिहान घटना घटाएको देखिन्छ ।”
२७ गते बिहान ४ बजे कँडेलको अस्ट्रेलिया रहेका छोरासँग भिडियो कल भएको थियो । त्यसपछि हत्या गरेर शव पलङको प्लाईभित्र त्रिपालले बेरेर राखेर दराई फरार भएका थिए । हत्यापछि उनको सुनका गरगहना, नगद, मोवाइल लगायतका सामग्री चोरी भएको थियो । कति धनमाल चोरी भएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हत्यापछि बेँसीसहर बजार घुमेका दराई १ बजे चितवनतर्फ गएका थिए । वैशाख २ गतेसम्म चितवन रहेका उनी ३ गते भारत प्रवेश गरेको बोहाेराको भनाइ छ । भारतको दिल्लीमा एक होटलमा चौकीदारमा काम गरेका उनी नेपाल आउने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । उनको लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।