• १९ मङ्सिर २०८२, शुक्रबार

दोलखामा किवी प्रशोधन उद्योग, किसान उत्साहित

blog

दोलखामा सञ्चालनमा आएको किवी उद्योग । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले 

चरीकोट, मङ्सिर १९ गते । दोलखाको कालिञ्चोक गाउँपालिकामा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गाउँपलिकाको वडा-१, क्याम्पोलमा उद्योग सञ्चालन गरिएको हो ।

गाउँपालिकाको दुर्गम बस्ती क्याम्पोलमा किवी प्रशोधन उद्योग सञ्चालनसँगै स्थानीय कृषकमा नयाँ आशा पलाएको छ । अधिकांश थामी समुदायको बसोवास रहेको सो क्षेत्रका १० जना कृषकलाई किवी प्रशोधनसम्बन्धी तालिम प्रदान गरिएको छ । उद्यमीलाई जाम, क्यान्डी र चना उत्पादनसम्बन्धि तालिम प्रदान गरिएको तामसालिङ विकास केन्द्र दोलखाका संयोजक राजन केसीले बताउनुभयो ।

करिब १२ लाख रुपियाँ लागतमा सञ्चालन गरिएको सो उद्योग कुला लोन इन्टरनेसनल–नामसालिङ सामुदायिक विकास केन्द्रबाट १० लाख ७२ हजार, वडाबाट ५० हजार तथा स्थानीय जनश्रमदानबाट २ लाख ५० हजार लगायतको सहयोगमा सञ्चालन गरिएको संयोजक केसीले बताउनुभयो ।

दुर्गम भौगोलिक अवस्था, कमजोर सडक र बजारीकरण अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने सोही वडाका वडाध्यक्ष पदमबहादुर थामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किवी उत्पादन राम्रै हुन्थ्यो, तर बजारसम्म पुर्‍याउने सुविधा नहुँदा किसानले मूल्य पाउन सकेका थिएनन् । यो समस्या समाधान गर्न किवी प्रशोधन कार्यक्रम सुरु गरिएको हो । अब गाउँमै जाम, क्यान्डीजस्ता उत्पादन हुन थालेका छ, जसले आम्दानी बढ्नुका साथै स्थानीयलाई रोजगारी दिएको वडाध्यक्ष थामीको भनाइ छ ।

कालिन्चोक–१, क्याम्पोल र आसपासका बस्तीमा २०० रोपनीमा रोपिएको ४४ सय किवी बिरुवाबाट यस वर्ष ७ हजार किलो उत्पादन भएको थियो । त्यसमध्ये ५ हजार किलो किवी प्रशोधन गरिएको उहाँले बताउनुभयो । उद्योगमा सो क्षेत्रको मात्र नभएर जिल्लाका विभिन्न स्थानमा उत्पादन गरिएको किवी प्रशोधन गर्न सहज भएको उहाँले बताउनुभयो ।

पहिले किवी कुहिने, बिग्रिने समस्या थियो, अहिले प्रशोधन हुँदा बेच्ने चिन्ता हटेको स्थानीय किसान कर्णबहादुर थामीले बताउनुभयो । अर्का किसान छन्दले थामीले किवी प्रशोधन उद्योगले गाउँमा व्यवसाय गर्ने वातावरण बनाइदिएको बताउनुभयो ।

किवी प्रशोधन उद्योग सञ्चालनसँगै स्थानीय उत्पादनको खपत वृद्धि, आम्दानी सुधार तथा कृषि व्यवसायप्रति आकर्षण बढेको स्थानीयले बताएका छन् । गाउँमै किवी प्रशोधन हुन थालेपछि कालिन्चोकका किवी कृषकमा आत्मनिर्भरता र दिगो व्यवसायको सम्भावना थपिएको सरोकारवालाले बताएका छन् ।