• १९ मङ्सिर २०८२, शुक्रबार

जेनजी आन्दोलनका सहिदः आमाबुवाको बिलौना-‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

blog

प्रकाश सिलवाल/राजकुमार ओली

काठमाडौँ, मङ्सिर १९ गते । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्‍याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढाईं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रूपमा स्थानीयरूपमा लोकप्रिय हुनुहुन्थ्यो ।

मुटुको टुक्रा जस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका-११, बिर्तामोडका सहिद गोपाल सेढाईंका आमा गुनमायाकोमा रासस प्रतिनिधि पुगेर घटनाका बारेका कुराकानी गर्न थालेपछि छोराको फोटो छातीमा राखेर उहाँले बिलौना गर्नुभयो, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो । गोली लागेपछि नजिकैको बि एन्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुः खद निधन भएको थियो । 

गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाईंले दिउँसो घर फर्किएर बुवालाई औषधी लिन शनिश्चरे अस्पताल पुर्‍याउनु भएको थियो । बुवासँगै घर फर्किएर आमा र बुवासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किनु भएको थियो । त्यस दिन गोपाल जागिरमा नगएर साथीसँग बिर्तामोड बजारमा निस्कनु भएको थियो । त्यही क्रममा उहाँलाई प्रहरीको गोली लागेर मृत्यु भएको थियो । करिब २:३० बजे गोली लागेको थियो भने ४:०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो । 

छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उहाँका साथी रामचन्द्र भण्डारीको भनाइ छ । अहिले पनि गोपालको गाउँ शोकमा छ । गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुवाआमाका आँखाबाट आँसु अझै पनि रोकिएका छैनन् । योग गुरु गोपालका आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे । बिर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुः ख पर्यो भनेर छरछिमेकले पनि दुः ख व्यक्त गर्न छाडेका छैनन् । 

गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ । गाउँ-सहरका चोकमा उठ्ने प्रश्न, आमाबुवाको आक्रोश, दिदीको पीडा र साथीको मौनता-सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो । 

नेपालभर असुरक्षा, भय र पश्चाताप फैलिएको त्यो समयमा अर्जुनधारा-११ को यो बस्ती भने शोकमा डुबेको थियो । दुः खद घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्नुहुन्छ, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो । आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो । बेलुका फर्किन्थ्यो । मलाई आमा के खानुभयो भनेर सोध्यो । अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो...। बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो ।”

आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उहाँले दिएको महत्त्व स्पष्ट झल्किन्छ । अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहना बमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।

गोपालका ८३ वर्षीय बुवा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो ?” भन्ने प्रश्नको जवाफ खोजिरहनु भएको छ । गोपालका बुवा धनपतिले पुरानो घर देखाउँदै भन्नुभयो, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो । यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नका लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो । हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ । अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो । सबै चकनाचुर भयो ।”

गोली लागेर छोरो कहिले नफर्कने गरी आफूलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ । छोराको नाम लिन साथ स्वर भारी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उ त भीडको बिच नारा लगाउँदै हिँडेको रहेछ । प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे । सँगै भएका साथीले बि एन्ड सी अस्पताल पुर्‍याए छन् तर गोपाल फर्किएन...।”

यो आन्दोलनले राजनीतिक दललाईभन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उहाँको बुझाइ छ । “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन ।” बुवाको यो पीडा केवल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र-प्रशासन र सुरक्षा निकायलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ । 

गोपालकी दिदी तुलसा उहाँलाई भाइभन्दा बढी साथीका रूपमा सम्झनु हुन्छ । “म रिसाउँदा हाँसेर सम्झाउँथ्यो । म भन्थेँ, समाज बदल्नु पर्छ । संसार यस्तै हो । तर उनी भन्ने गर्थेे, ‘‘हामीले नै बदल्नु पर्छ, अरूलाई पर्खेर हुँदैन ।” आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन् ।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपाल जस्ता निर्दोष युवाको ज्यान गएकोमा असन्तोष जनाउनु हुन्छ । 

उहाँले भन्नुभयो, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केवल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो । हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनै पर्छ ।”

सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरूको समूह नै भत्किएको बताउनु हुन्छ । गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउनु हुन्छ । “हामी साथीभाइ सधैँ बिर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ । अनिसचेत युवा समाज र आगामी आन्दोलनका बारेमा कुरा गथ्र्यौ । गोपाल सधैँ भन्ने गर्थे, “हिंसा नगरौँ, आवाज बुलन्द गरौँ । तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष शिकार भएर ज्यान गुमाउनु पर्योे ।”

सुजनका अनुसार गोपाल इमानदार, सरल र मिलनसार हुनुहुन्थ्यो । आफ्नो धारणा स्पष्ट राख्ने र साथीलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो । अर्का साथी माधव झा गोपालको मृत्युले युवा पुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउनु हुन्छ । ‘मिसन बिर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाउनु हुन्छ । “उनको मृत्युपछि  बिर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ । आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्तरूपमा आवाज उठाउन बल दिएको छ ।”

माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबिच एक किसिमको राजनीतिक चेतना बढाएको छ । अधिकारका लागि जिम्मेवार भएर उठ्नु पर्छ भन्ने चेतना वृद्धि भएको छ । अर्जुनधारा-११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केवल एक परिवारको दुःख होइन, आफ्नो सिङ्गो वडाको दुः ख भएको बताउनु हुन्छ । पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उहाँको भनाइ छ । रासस