• १८ मङ्सिर २०८२, बिहिबार

साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि, एपिएफको लक्ष्य उपाधि

blog

काठमाडौँ, मङ्सिर १८ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

दशरथ रङ्गशालामा हुने प्रतियोगितामा आयोजक नेपालको एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहनेछ । एपिएफले शुक्रबार पहिलो खेलमा साँझ ६:०० बजे बङ्गलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । 

खेलअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपिएफ क्लबका प्रशिक्षक जीवेशकुमार पाण्डेले क्लबको लक्ष्य च्याम्पियनसिपको उपाधि घरमै राख्ने बताउनुभयो ।

उहाँले तयारी राम्रो गरिरहेको र राष्ट्रिय खेलाडीले भरिएको एपिएफ उपाधिको हकदार रहेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी अन्य टोलीका प्रशिक्षकले पनि राम्रो खेल्दै उपाधि जित्ने दाबी गर्नुभयो । 

एपिएफले दोस्रो खेल मङ्सिर २५ गते भुतानको ट्रान्सपोर्टस क्लबसँग, २७ गते पाकिस्तानको कराँचीसँग र लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इष्ट बङ्गाल क्लबसँग खेल्नेछ । लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ ।