• १८ मङ्सिर २०८२, बिहिबार

पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’

blog

वासिङ्टन, मङ्सिर १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।

बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गर्नु भएको थियो । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस-युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।

ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “पुटिनले हिजो जारेड कुसनर र स्टिभ विटकफसँग निकै सकारात्मक भेट गर्नुभयो । त्यसबाट के निष्कर्ष निस्किन्छ भन्ने अहिले भन्न सकिन्न, किनकि यस्तो प्रक्रियामा दुवै पक्षको बराबर प्रयास आवश्यक हुन्छ । तर हाम्रो प्रतिनिधिमण्डलले उहाँ युद्धको अन्त्यतिर लाग्नुभएको छ भन्ने अनुभूति लिएर फर्किएको छ ।”

यद्यपि, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई ‘द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान’ भने पनि मुख्य विषयमा कुनै ठोस सम्झौता नभएको पुष्टि गर्नुभयो । उहाँका अनुसार समाधानका सम्भावित मार्गको विस्तृत समीक्षा भए पनि प्रमुख विवाद यथावत् रहे । “हामी अहिले पनि युक्रेन सङ्कट समाधानको नजिक पुगेका छैनौँ । अझ धेरै काम गर्न बाँकी छ”, उसाकोभले भन्नुभयो । उहाँका अनुसार चर्चा राति ढिलोसम्म चले पनि ठोस प्रगति देखिएन ।

रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीको सहभागिता रहेको उक्त वार्तामा अमेरिकाले नयाँ प्रस्ताव पेस गरेको पुष्टि गरिएको छ । तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दा प्रमुख अवरोधका रूपमा रहिरहे । उसाकोभका अनुसार दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन् । “छलफल गोप्य थियो र यसको सार हामी सार्वजनिक गर्दैनौँ”, उहाँले भन्नुभयो ।

यद्यपि, उहाँले कूटनीतिक संवाद निरन्तर हुने उल्लेख गर्दै पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्वपूर्ण राजनीतिक सन्देश’ पठाउनु भएको बताउनुभयो । “अमेरिकी टोलीले आफ्ना निष्कर्ष राष्ट्रपति ट्रम्पलाई पेश गर्नेछ र हामीसँग थप सम्पर्क हुने छ”, उहाँले भन्नुभयो । अमेरिकी प्रतिनिधिमण्डलसँग भेटभन्दा केहीअघि पुटिनले युरोपेली संलग्नताप्रति असन्तुष्टि व्यक्त गर्दै युरोपेली सङ्घ (इयु)का सरकारले शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले प्रस्ताव अघि सारिरहेको आरोप लगाउनुभएको थियो । रासस/एएनआई