चितवन समाचारदाता
चितवन, मङ्सिर १८ गते । कालिका नगरपालिकाको सिद्धिका चेपाङ समुदायले भोग्दै आएको समस्या निराकरणका लागि कयरखोलाको मुहानमा पक्की पुल निर्माण सुरु गरिएको छ ।
बर्सेनि बर्खायाममा कयरखोलाले बगाएर मान्छेको ज्यान जान थालेपछि कालिका नगरपालिका–१० स्थित तीनदोभानमा पुल निर्माण सुरु गरिएको हो । चार करोड ३८ लाख ६७ हजार रुपियाँको लगानीमा निर्माण हुने उक्त पुल नगरप्रमुख विनोद रेग्मीले शिलान्यास गर्नुभएको हो ।
तीनदोभानमा पुल नहुँदा गएको साउन १० गते खोलाले बगाएर ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको थियो । विगत पाँच वर्षदेखि सो खोलाले प्रत्येक वर्ष एक÷दुई जनाको ज्यान लिँदै आएको छ । पुल नभएकै कारण स्थानीयले ज्यान गुमाउनु परेपछि कालिका नगरपालिकाले आफ्नै लगानीमा पुल निर्माण सुरु गरेको हो । उहाँले पुल बनेपछि कालिका–१० र ११ अन्तर्गत पहाडी गाउँमा बसोबास गर्ने चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आउने बताउनुभयो । वडा नं. १० का वडाध्यक्ष नरजङ्ग प्रजाले पुल सञ्चालनमा आएपछि कसैले पनि खोलाले बगाएर अकालमै मर्नु नपर्ने बताउनुभयो । वडाध्यक्ष प्रजाले चेपाङ बस्तीमा अझै पनि बिजुली बाल्न नसकिएको भन्दै करिब दुई सय घरधुरीमा अझै बिजुली पुग्न नसकेको बताउनुभयो । “पोल गाडेको छ, तार टाँगेको छैन,” वडाध्यक्ष प्रजाले भन्नुभयो, “हाम्रो प्रयास जारी छ, छिट्टै बिजुली बल्छ ।”
नगरप्रमुख रेग्मीले सीमान्तीकृत चेपाङ समुदायको दैनिकी परिवर्तन र जीवनस्तर उकास्न कयरखोलाको मुहानमा पुल निर्माण सुरु गरिएको बताउनुभयो । “नगरवासीको सुरक्षाको दायित्व स्थानीय सरकारको हो,” उहाँले भन्नुभयो, “तीनदोभानमा बर्सेनि खोलाले बगाएर मान्छे मर्न थालेपछि नगरपालिकाको बजेटबाटै पुल निर्माण सुरु गरेका हौँ ।”
काममा विलम्ब नगरी आफूले शिलान्यास गरेको पुल समयमै उद्घाटन गर्ने भन्दै उहाँले गुणस्तरमा समेत ख्याल गर्न निर्माण कम्पनीलाई आग्रह गर्र्नुभयो । कालिका नगरपालिकाले आयआर्जन, उत्पादन र उद्यमशीलता, स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार निर्माणलाई बराबर महŒव दिएर अगाडि बढाउँदै आएको रेग्मीले बताउनुभयो ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाले २०८२ असार १७ मा सम्झौता भई निर्माण कम्पनीले साउन १ बाट काम सुरु गरेको जानकारी दिनुभयो । २०८३ पुस ३० गते निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने आइसिसी ब्रिज पुलको लम्बाइ ४० मिटर, चौडाइ आठ मिटर र उचाइ सात मिटर हुने छ ।