• १८ मङ्सिर २०८२, बिहिबार

आगजनी र तोडफोडमा संलग्न दुई जना पक्राउ

blog

प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर १८ गते ।
रौतहटमा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न दुइ  जनालाइ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कार्यालय र सवारी साधनहरुमा आगजनी तथा तोडफोडमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले  बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर –४ का वर्ष ३२ वर्षीय दिपक बस्नेत र चन्द्रपुर–८ का ४३ वर्षीय हरि नारायण चौधरी रहेको छ । दुवै जनालाई रौतहट  जिल्ला अदालतबाट आपराधिक उपद्रोह  कसुरमा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड तथा लुटपाट गर्नेहरुको खोजि कार्य जारी रहेको र संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

यसैबिच भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गर्ने र गर्न उक्साउने मुख्य योजनाकारलाई पक्राउ नगरेर आन्दोलनमा सहभागी भएकै भरमा गरिएको पक्राउको बिरोधमा युवाहरुले बुधबार राति पूर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रहरीले पक्षपाति रुपमा गरेको पक्राउ नसच्याए कडा आन्दोलन गर्ने चेतावनी प्रदर्शनकारीहरुले दिएका छन् ।