• १८ मङ्सिर २०८२, बिहिबार

जलेश्वर कारागारबाट अझै २७१ कैदी फरार, खोजी कार्य तीव्र

blog

महोत्तरीको जलेश्वर करागार । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, मङ्सिर १८ गते ।
महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७१ जना अझै पनि फरार छन् । फरार कैदी खोज्न कार्यदल गठन गरिएको छ ।

कारागार प्रशासनका अनुसार घटनाका बेला कारागारमा कुल ५७६ कैदीबन्दी रहेकामा तीन जनाले अवसर पाएर पनि जेल नछोडेपछि ५७३ जना फरार भएका थिए । फरारमध्ये ४१ जना भारतीय नागरिक पनि थिए । त्यसमध्ये नौ भारतीय कैदीलाई नेपाली तथा भारतीय प्रहरीले भिट्ठामोड नाकाबाट नियन्त्रणमा लिएर कारागार फिर्ता ल्याएको छ ।

कारागार प्रमुख (जेलर) अशोककुमार क्षेत्रीका अनुसार कारागार प्रशासनको आह्वानपछि हालसम्म भारतीय बाहेक २९१ जना जलेश्वर कारागारमा तथा दुई जना सिन्धुली कारागारमा फर्किएको छन् । भारतीय नौ जनासमेत जोड्दा कारागार फर्कनेको सङ्ख्या ३०२ जना पुगेको छ । कारागार प्रशासनको आह्वानपछि अधिकांश कैदी स्वेच्छाले फर्किएको क्षेत्रीले बताउनुभयो ।

जेलर क्षेत्रीका अनुसार फर्कन बाँकी रहेका ३२ भारतीय कैदीमध्ये धेरैजसो डाँका मुद्दाका अभियुक्त हुन् ।  त्यसपछि कर्तव्य ज्यान, चोरी, बलात्कारलगायत मुद्दाका कैदीसमेत फरार छन् । नेपाली फरार कैदी भने केही राजनीतिक पृष्ठभूमिका र अधिकांश आपराधिक मुद्दाका रहेको उहाँले बताउनुभयो ।

कारागार प्रशासनले फरार कैदीलाई स्वेच्छाले फर्किन आह्वान गर्दै आएको छ । फर्किन अस्वीकार गर्नेहरूमाथि कारागार ऐन–२०७९ तथा नेपालका प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाइने चेतावनी दिएको छ । खोजी कार्यका लागि सहयक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलको संयोजकत्वमा सुरक्षाकर्मी र सरकारी वकिलसहितको कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्य सचिवमा जलेश्वर कारागारका जेलर राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्व शर्माले फरार कैदीहरूको पहिचान र परिचय खुल्ने विवरण सम्बन्धित प्रहरी इकाइमा पठाई खोजी कार्य तीव्र बनाइएको जनाउनुभयो ।

‘‘फरार कैदीबन्दीको हकमा विभिन्न स्थानमा सुरक्षा निकाय परिचालन गरिएको छ,’’ एसपी शर्माले भन्नुभयो, ‘‘उनीहरूलाई लुकाइ–छिपाइ राख्ने, सीमा पार गराउने र आश्रय दिनेहरूमाथि पनि समान कानुनी कारबाही हुने जनाकारी गराइएको छ ।’’

भारतीय कैदीको पनि भारतीय काउण्टरपार्टससँगको समन्वय र सहकार्यमा जोजी कार्य तीव्र बनाइएको एसपी शर्माले दावी गर्नुभयो ।