रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), मङ्सिर १८ गते । कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँमै रोजगारीको सिर्जना गर्न ११ योजनामा उपभोक्ता समितिमार्फत काम गराउन थालेको छ । कालीगण्डकी गाउँपालिकाले बेलायत सरकारको आर्थिक सहायतामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत ११ योजना छनोट गरेको छ । ती योजना अधिकांश सिँचाइ र केही सडकसँग सम्बन्धित छन् ।
यो वर्ष कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरमा पर्ने छ सय कुलो र बुढो कुलो सिँचाइ योजना निर्माणको काम हुँदै छ । गाउँपालिकाका अनुसार यो योजनाको काम गर्न ३५१ सिपयुक्त जनशक्ति र एक हजार १८८ श्रमिक आवश्यक पर्छ । यो योजनाको लागि स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र गाउँपालिकाको गरेर ५० लाख रुपियाँ बजेट स्वीकृत भएको छ ।
यो वर्ष वडा नं. ७ को सेराटुनी खोला सिँचाइ योजना पनि कार्यान्वयन हुँदै छ । कालीगण्डकी गाउँपालिकाका इन्जिनियर सत्यनारायण रायले यो योजनाको काममा ४४४ सिपयुक्त जनशक्ति र एक हजार ७४२ स्थानीय श्रमिक आवश्यक पर्ने जानकारी दिनुभयो । यो योजनाका लागि ६७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । इन्जिनियर रायका अनुसार एउटा योजनामा २५ देखि ३० जनाले काम गर्ने भएकाले सबै योजना कार्यान्वयन हुँदा तीन सयले रोजगारी पाउने छन् ।
छ सय कुलो र बुढो कुलो तथा सेराटुनी खोला सिँचाइ योजनाबाहेक नौ योजना छन् । ठाडो खेत सिँचाइ योजना, आपेखोला–भन्ज्याङ खर्क–भयकोट–हिलेसिद्ध मोटरबाटो स्तरोन्नति, पूर्तीघाट लम्सराङदेखि छापसम्म र बेलटारी सिद्धबाबा मोटरबाटो स्तरोन्नतिको काम पनि स्थानीय जनशक्तिमार्फत हुने छ । जिरो बकेड छाहाददी मोटरबाटो स्तरोन्नति, बगर कल्सेरभुटिया चाल्से सिँचाइ योजना, भुल्के लेगा सिँचाइ योजना, जिमिरे काल्ने डिम सिँचाइ योजना, सपाद्धे खानीगैरार खरखरेगैरा थालुङ ग्याबिन वाल निर्माण, सिस्नेखोला तल्लोकुला बाजरा थुम्का सिँचाइ योजना र सेराटुनी खोला सिँचाइ गरेर ११ वटा योजना रहेका छन् । जसका लागि चार करोड २२ लाख ७५ हजार बजेट स्वीकृत भएको छ ।
यी योजना कार्यान्वयनका लागि लाभग्राही कामदारका लागि गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालयमा सूचीकृत भएका र सूचीकृत हुन बाँकी लाभग्राहीलाई सूचीकृत हुन आग्रह गरेको छ । कालीगण्डकी गाउँपालिकाका रोजगार सहायक वासन थापाका अनुसार प्रधानमन्त्री रोजगार अन्तर्गत आर्थिक वर्ष २०८२÷८३ का लागि सात वडाबाट बेरोजगारीको सूचीमा ४७० जना आबद्ध भएका छन् । अहिले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि कामदार माग गर्दा २६५ जनाले आवेदन दिएको थापाले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले ठेक्काबाट ४०/४५ प्रतिशत बिलोमा योजना सम्झौता गरेर गुणस्तरहीन काम भएपछि उपभोक्ता समितिमार्फत गाउँकै श्रमशक्तिको उपयोग गर्न थलिएको बताउनुभयो । थापाका अनुसार गत वर्ष सिँचाइ र विपत् व्यवस्थापनका नौ योजनामा उपभोक्ता समितिमार्फत २८२ जना स्थानीयले रोजगारी पाएका थिए ।
यो वर्ष योजना सङ्ख्या बढेकाले तीन सयभन्दा बढीले गाउँमै रोजगारी पाउने भएकाले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाहेक गाउँपालिकाकै पाँच/सात वटा योजना उपभोक्ता समितिमार्फत गर्न थालिएको बताउनुभयो । जसका लागि गाउँपालिकाले ठेक्का र उपभोक्ता समितिको कामको निगरानी गर्न तेस्रो पक्षबाट अनुगमनको व्यवस्था गरेको छ ।