विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १८ गते । सप्तरीमा भारतसँग जोडिएको सीमानाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।जिल्लामा खुला सीमानाका रहेको कारण सीमावर्ती नाकाहरुबाट लुकीछिपी अवैध ढङ्गबाट विदेशी नागरिकहरु जिल्ला भित्र प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।
७८ किलोमिटर खुला सिमाना रहेका कारण सीमावर्ती नाकाहरु हुँदै लुकीछिपी वा अवैध रूपमा विदेशी नागरिकहरू जिल्लाभित्र प्रवेश गर्न सक्ने जोखिम बढेकोले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
मङ्सिर १४ गते आइतबार बसेको सुरक्षा समितिको बैठकले गरेको विभिन्न आठ बुँदे निर्णय सार्वजनिक गर्नुहुँदै उहाँले जिल्ला भरीका सबै सीमावर्ती क्षेत्र, बजार तथा समुदायस्तरमा विशेष निगरानी र कडा चेकजाँच सुरु गरिएको बताउनुभयो ।
सुरक्षा निकायले सर्वसाधारण आवतजावत क्षेत्रमा समेत ध्यानपुर्वक निरीक्षण गरिरहेको भन्दै, त्यस्ता शङ्कास्पद व्यक्तिहरू समुदायमा समेत प्रवेश गर्न सक्ने अवस्था रहेकाले सबै पक्षलाई सचेत रहन प्रशासन कार्यालय सप्तरीले जारी गरेको सुचनामा भनिएको छ ।