• १७ मङ्सिर २०८२, बुधबार

ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा

blog

शिविरबाट सेवा लिँदै सेवाग्राही । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर १७ गते । सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।

नगरपालिकाको कार्यालय देखि भूगोल तथा दुरीका हिसाबले टाढा रहेका ग्रामीण बस्तीका जनताको लागि शिविरबाटै सम्पूर्ण सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. १ र २ का ग्रामीण भेगका नागरिकलाई वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा दिएको हो । शिविर बाट योजनाको सम्झौता, बैँक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जीकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा, आँखा तथा परीक्षण सहित विशेषज्ञ मार्फतस्वास्थ्य जाँच सेवा दिएको थियो ।

नगर प्रमुख रमण बहादुर थापाले स्थानीय सरकार जनताको सेवाको लागि साथमा छ भन्ने आभास दिलाउन नगरपालिका कार्यालय देखि दुरीका हिसाबले पर रहेका नागरिकको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । विगतका वर्षदेखि सञ्चालन भएको शिविरलाई थप परिस्कृत गर्दै निरन्तरता दिइएको जानकारी दिनुभयो । नगरपालिका कार्यालयको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यस पश्चात वडा नं. ९ मा पनि शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरवासीले सहज रूपमा सेवा लिन पाउने नागरिकको अधिकारलाई प्रत्याभूति दिलाउन शिविर सञ्चालन गरिएको नगर प्रवक्ता कपिलबहादुर खाँणले बताउनुभयो । शिविरबाट ४ सय ८५ भन्दा बढी सेवाग्राहीले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो  । शिविर बाट स्वास्थ्य जाँच सेवा १७० जना,  ल्यावसेवा १८५ जना, आँखा परीक्षण सेवा १३० जना, कान परीक्षण सेवा ७० जनाले लिएका टन् । आँखा परीक्षण गरिएका मध्ये ११ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

त्यस्तै  सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक सेवा ४२ जना र अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र सेवा ६ जनाले लिएका छन् । साथै शिवर बाट २७ वटा योजनाको सम्झौता गरिएको छ । साथै पशु सेवा १७० जना र कृषि सेवा २०६ कृषकले लिएका छन् । आयुर्वेद सेवा १०१ जनालाई प्रदान गरिएको छ । कालीगण्डकी आँखा उपचार केन्द्र र रामपुर अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य तथा आँखा परीक्षण सेवा प्रदान गरिएको हो ।