शङ्कर केसी,
सल्यान, मङ्सिर १७ गते । धान्यपूर्णिमा मेलाको अवसरमा सल्यानको कालीमाटी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । परापूर्वकालदेखि लाग्दै आएको प्रसिद्ध कालीमाटी मेलाको अवसरमा गाउँपालिकाले शुक्रबार (मङ्सिर १९ गते) एकदिन सार्वजनिक बिदा दिएको हो ।
कालीमाटी गाउँकार्यपालिकाको कार्यालय, पालिकाअन्तर्गत वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामुदायिक स्वास्थ्य एकाइहरु, विद्यालयहरु, बाल विकास केन्द्रहरु र पालिकाभित्र कार्यालय रहेका बैंक तथा वित्तिय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले जानकारी दिनुभयो । कार्यपालिकाको मिति मङ्सिर १ गतेको निर्णय अनुसार मेलाको अवसरमा बिदा दिइएको हो ।
धान्यपूर्णिमाको अवसरमा वडा नम्बर–३ स्थित कालीमाटी गङ्गामाला भगवती मन्दिरमा ठुलो सङ्ख्यामा मानिसहरुले दर्शन र पूजा अर्चनासमेत गर्ने गर्दछन् । साथै भक्तजनहरुले भाकल स्वरुप पशुपन्छीको बलि दिने गर्दछन् । यसवर्ष बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्म मेला लाग्ने गाउँपालिकाले जनाएको छ ।