विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १७ गते । सप्तरीको राजविराजमा बुधबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ । साहित्यक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ दिने पुस्तक प्रदर्शनीको सुरुवात गरेको हो ।
पुस्तक प्रदर्शनीको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।उद्घाटनपछि बोल्नुहुँदै उहाँले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको सङ्ख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागि पनि चासोको विषय बन्नुपर्नेमा अध्यक्ष खडकाले जोड दिनुभयो ।
उहाँले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै शैक्षिकस्तर सुधार, प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका तथा लेखक, कवि, पत्रकार र स्रष्टाहरुको लगानी रहेको साहित्यिक संस्था साझा प्रकाशनको उत्थानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बृहत पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धित दुई हजार ६ सयभन्दा बढी शीर्षकका पुस्तक राखिएका छन् ।
एक हजार ६ सयभन्दा लेखकका कृति राखिएको प्रदर्शनी पुस १ गतेसम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ ।